सर्वोच्चको आदेशप्रति एमालेको कडा टिप्पणी

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वार्ड नं. १९ मा फेरि मतदान गराउन दिएको आदेशप्रति नेकपा एमालेले कडा टिप्पणी गरेको छ ।

सर्वोच्चको यो फैसलाले राज्यमा नागरिक सर्वोच्चता र जनताको जनमतलाई अपमान गरेको भन्दै एमालेले यो आदेश दुर्भाग्यपूर्ण भएको बताएको छ । एमालेका सचिव तथा प्रचार विभाग इन्चार्ज योगेश भट्टराईले सर्वोच्चको फैसलाले जनताको जनमतको अपमान गरेको टिप्पणी गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुरमा च्यातिएका मतको वैज्ञानिक अनुसन्धान गरी मतगणना जारी राख्नुपर्ने माग राख्दै आएको थियो । तर
, आइतबार सर्वोच्चले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।

एमाले सचिव भट्टराईले सर्वोच्चको यो निर्णयले राजनीतिको अपराधीकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको टिप्पणी पनि गरेका छन् ।
आफूहरुलाई भरतपुरका जनताप्रति भरोसा रहेको भन्दै उनले त्यहाँका जनताले आफ्नो जनमतमार्फत नागरिकको सर्वोच्चता स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

Loading...