राष्ट्रिय स्क्वास प्रतियोगिता मंगलबारदेखि

काठमाडौँ, १५ साउन । नेपाल स्क्वास तथा राकेट्स सङ्घको आयोजनामा दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ ।

यही साउन १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित सङ्घको एकेडेमीमा हुने यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक सङ्घका अध्यक्ष किशोर महर्जनले जानकारी दिए ।

प्रतियोगितामा मास्टर ४५ वर्षदेखि ५४ वर्ष उमेर समूहको भेट्रान, पुरुष खुला, महिला खुला, भेट्रान ५५ वर्षभन्दा माथि, जुनियर १९ वर्षमुनि छात्र (यु–१९), जुनियर यु–१५ छात्र र प्लेट च्याम्पियनसिप गरी सात विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुष खुलाको विजेताले १९ हजार तथा उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने दुईजना खेलाडीले जनही चार हजार पाउनेछन् । महिला खुलामा पहिलो हुनेले ११ हजार, दोस्रो हुनेले पाँच हजार तथा तेस्रो हुनेले तीन हजार पुरस्कार पाउनेछन् ।

यु–१९ उमेर समूहका विजेता खेलाडले ६ हजार पुरस्कार पाउनेछन भने यु–१५ को विजेताले चार हजार पाउनेछन् । दुवै विधाका उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः तीन हजार र एक हजार ५०० प्राप्त गर्नेछन् ।

Loading...