नेविसंघको विवाद चरमचुलीमा । त्रिविमा ४ छुट्टाछुट्टै समानान्तर समिति

काठमाडा‌ैं, १५ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद फेरि चरम चुलीमा पुगेको छ । नेविसंघमा यसअघि दुईवटा मात्र गुट बाहिर देखिने गरेको भए पनि पछिल्लो समय भने धेरै गुट देखा परेका छन् । यतिसम्म कि त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका ४ वटा समानान्तर कमिटि गठन भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला निकट गुटमा रहेका विद्यार्थीले आआफ्नै कमिटि गठन गरेका हुन् ।

अध्यक्ष नैनसिंह महरकै कारण संघमा विवाद सिर्जना भएको अरु नेताहरुले आरोप लगाएका छन् । महरसँग अध्यक्षमा लडेका मनोजमणि आचार्यको टिमले महरले मनोमानी गरेको आरोप लगाएको छ । महरले संगठनको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म आफ्नै ढंगले मान्छेहरु राखेको भन्दै अर्को समूहले त्यसमा कडा प्रतिवाद गरेको छ । यसअघि सम्पन्न ११ औं महाधिवेशनमा पराजित भएका व्यक्तिहरुलाई नै यसपटक महरले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

त्यसैगरी महरले त्रिभुवन विश्वविद्यालयमा गठित इकाई समितिको सभापतिमा पनि आफ्नो मान्छे जवरजस्ती राखेको आरोप लागेको छ । महरले यसअघि त्रिवि इकाई समितिको सभापतिमा सम्झना खत्रीलाई मनोनित गरेका थिए ।

११ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवार बनेर पराजित भएकी महेश्वरी कुँवरलाई महरले यसपटक सहमहामन्त्रीमै मनोनित गरेका थिए । त्यसैगरी उनले तिर्थ गौतम, सन्जिव न्यापौने र मनिषजंग थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर नेविसंघका नेताहरुले महरको उक्त कार्यको चर्को आलोचना गरेका छन् । उनीहरुले अध्यक्ष महरले तानाशाह प्रवृति देखाएको आरोप लगाउँदै यसलाई कुनै हालतमा पनि स्वीकार नगर्ने स्पष्ट गरेका छन् ।

उता त्रिभुवन विश्वविद्यालयमा नेविसंघका चारवटा समानान्तर इकाई समिति बनेको छन्। अध्यक्ष महरले विधानले दिएको अधिकार बमोजिम भन्दै त्रिविको इकाई कमिटिको अध्यक्षमा आफ्नै क्षेत्र सुदूरपश्चिमको कैलालीकी सम्झना खत्रीलाई तोकेका छन्।

अनौठो त यो छ कि यसअघि ११ महाधिवेशनमा महरकै प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्यमा जितेका नेताहरुले पनि अहिले त्रिविमा महरेको उक्त मनोनयनलाई चुनौती दिँदै आफ्ना छुट्टै कमिटि बनाएका छन् । महरको प्यानलबाट उपाध्यक्ष जितेका सञ्जय यादव र विकास केसीले महरकै गृहजिल्ला डडेल्धुराका जगदिश भट्टलाई त्रिवि इकाई समितिको अध्यक्ष बनाएका छन् ।

उता उपाध्यक्षहरु डिल्लराम सुवेदी र रामप्रसाद अधिकारीको समूहले छुट्टै भेला गरी हरि आचार्यलाई त्रिविको इकाई अध्यक्ष बनाएको छ ।

त्यसैगरी नेविसंघका उपाध्यक्ष प्रकाश रानाको समूहले छुट्टै कमिटि बनाएको छ । रानाको समूहले त्रिवि इकाई कमिटिको अध्यक्षमा श्यामचन्द्र अधिकारीलाई चयन गरेको छ ।

केन्द्रीय विश्वविद्यालय त्रिविमा चारवटा इकाई समिति भएपछि नेविसंघभित्रको विवाद झन् बल्झिएको छ। अध्यक्ष महरले भने सम्झना खत्री नै आधिकारी अध्यक्ष भएको बताए।

‘विधानले व्यवस्था अनुसार नै मैले सम्झनालाई अध्यक्ष बनाएको हुँ। बाँकी बनाइएका समितिहरु आधिकारिक होइनन्। विधानविपरित कोही पनि साथीहरु जानुहुँदैन,’महरले भने।

उता नेविसंघका उपाध्यक्ष सुवेदीले त्रिविमा लामो समयदेखि विवाद रहेको तर त्यसलाई सल्लाहमा टुंगो लगाउने भनिए पनि अध्यक्ष महरले मनोमानीपूर्ण तरिकाले अध्यक्ष मनोनयन गरेको बताए । महरले मनोमानी गरेपछि अरु विद्यार्थीहरुले भेला गरेर भेला मार्फत अध्यक्ष चुनेको उनले दाबी गरे।

अहिले पनि नेविसंघले ११ जिल्लामा अधिवेशन गर्न सकेको छैन । गुटगत विवादका कारण ११ औं महाधिवेशनअघिदेखि नै ती जिल्लामा नयाँ कमिटि गठन हुन नसकेका हुन् ।

विवाद भएका जिल्लाहरुमा सिरहा, धनुषा, रौतहट, पर्सा, सोलु, भक्तपुर, कास्की, रुपन्देही, मुस्ताङ, सुर्खेत र कञ्चनपुर रहेका छन् ।

त्यसैगरी राजधानीका करिव एक दर्जनभन्दा बढी क्याम्पसमा पनि नेविसंघको विवाद चलिरहेको छ । त्रिचन्द्र क्याम्पस घण्टाघर, ग्रामिण आदर्श क्याम्पस बालाजु, महेन्द्ररत्न क्याम्पस तहाचल, आरआर क्याम्पस प्रदर्शनी मार्ग, शंकरदेव क्याम्पस पुतलीसडक, नेपाल कमर्श क्याम्पस मिनभवन वानेश्वर, पद्मकन्या क्याम्पस बागबजार, पाटन क्याम्पस ललितपुर लगायतका क्याम्पसमा पनि नेविसंघको आन्तरिक विवाद चरम चुलीमा छन् ।

नेविसंघको ११ औं महाधिवेशनमा जिल्लाका अध्यक्ष केन्द्रमा निर्वाचन लडेपछि अहिले १० जिल्ला अध्यक्षविहीन छन्। नेविसंघको विधानमा केन्द्रमा निर्वाचन लडेर जिते वा हारेमा जिल्ला अध्यक्ष पद स्वतः रिक्त हुने व्यवस्था छ। जिल्ला अध्यक्ष केन्द्रमा चुनाव लडेपछि मोरङ, खोटाङ, काभ्रे, लमजुङ, म्याग्दी, गुल्मी, कैलाली, बाजुरा, डोल्पा र जाजरकोट जिल्लामा नेविसंघ नेतृत्वबिहीन छ।

Loading...