हेलिकोप्टरबाट सुत्केरीको उद्धार

गोरखा, १३ साउन । सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको आज हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ ।

गाउँमा भरपर्दो प्रसूति सेवा नभएपछि हेलिकोप्टर चार्टर गरी गुरुङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।

“सुत्केरी बेथाले थलिएकी गुरुङको हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल ल्यायाँैं । शल्यक्रिया गरी छोरा जन्मिएको छ । आमाको होस आइसकेको छैन” उद्धारमा संलग्न छेकम्पारका धावाग्याल्जेन लामाले भने, “बच्चाको अवस्था पनि सामान्य छैन ।”

दुई दिनदेखि गुरुङलाई सुत्केरी व्यथाले च्यापेको थियो । स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको रेखदेखमा राखिएको भए पनि सुरक्षित प्रसूति गराउन सकिएको थिएन ।

एक लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरिएको बताउँदै जिल्ला जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले हेलिकप्टर भाडा सरकारले तिर्ने बताए । सडक नपुगेका ठाउँका सुत्केरी हुन सकेनन् भने सरकारतर्फबाट भाडा बेहोर्ने गरी हेलिकोप्टर चार्टर गरिन्छ । गुरुङको परिवारको आर्थिक अवस्था कमजोर छ ।

 

Loading...