सामाजिक सञ्जालले ध्वस्त पार्दै विवाह सम्बन्धहरु

काठमाडाैं, १३ साउन । सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहुँचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीमा आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ ।

कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइ पाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुक र फोनबाट श्रीमानको पहिलेकी प्रेमीकासँग झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ ।

धादिङका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुकमा चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक वर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह गर्ने वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केही अघि मात्र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरेको थाहा पाए ।

काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन् । उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा पुगिन् ।

प्रहरीकाे महिला सेलमा आजकल अधिकांश महिलामाथि श्रीमान वैदेशिक रोजगारीमा गएपछि अर्को सम्बन्ध बनाएको उजुरी पर्ने गरेको छ । केही घटनामा भने सामाजिक सञ्जालमार्फत भएको मित्रतालाई शंका गरेर प्रहरीमा पुग्ने दम्पती पनि छन् ।

कालिमाटी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक सुरक्षा केसीले भनिन् ‘दिनहुँ पतिपत्निबीचको झगडा १० भन्दा बढी आउँछन्, जसमा हिजो आज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ । यस्ता घटनामध्ये धेरैलाई घरायसी झगडासम्म मात्र सीमित हुन्छ भने केही घरेलु हिंसासम्म निम्त्याउँछ ।’

यस्ता सम्बन्ध बनाउनेमा महिला र पुरुष दुवैको संख्या उत्तिकै रहे पनि सम्पत्ति लिएर महिला गएपछि मात्र पुरुषहरु प्रहरी अगाडि आउने गर्छन् ।

Loading...