रौतहटमै अब अमिन र भेटेनरी पढाई हुने

रौतहट – रौतहटको सदरमुकाम गौरमा अमिन र भेटेनरीको पढाइ सुरु भएको छ । शैक्षिक स्थिति कमजोर रहेको र प्राविधिक शिक्षातर्फ कमजोर रहेको जिल्लामा अमिन र जेटिए पढाइ सुरु भएपछि प्राविधिक जनशक्ति उत्पादनको आशा गरिएको छ । 
आइतबारबाट इन्स्टिच्यूट अफ टेकनिकल इजुकेशन गौर, रौतहट प्रा.लि. ले सो पढाई सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सो कक्षाको उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै प्रजिअ भुजेलले चिटको भरमा पास गर्ने मनसाय त्याग्न समेत आग्रह गरे । विगतमा रौतहट यही कारणले बदनाम भएको बताउँदै उनले अब यसको निर्मुल गर्नुपर्ने बताए । शिक्षा क्षेत्रमा रौतहटले पाएको बदनामीलाई यस संस्थाले बचाउनु पर्ने उनको धारणा थियो । 
कार्यक्रमका जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज पौडेलले प्राविधिक शिक्षाको अभाव यसले पूरा गर्ने बताउँदै अब जिल्लावासीहरुले युवाहरुलाई रोजगार बनाउन जमिन र जनावरको बारेमा शिक्षा प्रदान गर्नका लागि प्राविधिक शैक्षिक संस्था स्थापन गरेकोमा संस्थालाई शुभकामना दिए । 
त्यस्तै नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष जयप्रकाश यादवले प्राविधिक शिक्षातर्फ रौतहटपछि परेको उल्लेख गर्दै अब यसमा पनि सक्षम हुने बताए । अबदेखि रौतहटको इतिहास रचिने आशा व्यक्त गर्दै उनले अमिन तथा भेटेनरी शिक्षा प्रदान गर्ने संस्थाका पदाधिकारी तथा विधार्थीहरुलाई अग्रिम सफलताको शुभकामना दिए । 

कार्यक्रममा जनस्वास्थ्यकार्यालय रौतहटका दुर्योधन चन्द्रवंशी, जिल्ला पशु कार्यालय रौतहटका ललित चन्द्र कर्ण, मालपोत कार्यालय रौतहटका गजेन्द्र यादव, इम्प्याक्ट नेपालका हरेश्याम झा, राजनैतिक दलको तर्फबाट पूर्व मेयर बाबुलाल साह, जुद्ध क्याम्पस गौरका चन्देश्वर राउत, क्याम्पसका निर्देशक असोक कुमार निधिले आआफ्ना भनाई राखेका थिए ।      

Loading...