एसएलसी पुनर्योगमा १४१० उत्तीर्ण

काठमाडौं । गत जेठ २८ गते सार्वजनिक भएको एसएलसी परीक्षाको नतिजाप्रति असहमति जनाउँदै पुनर्योगका लागि आवेदन दिएका ९.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजामा सो देखिएको हो । जेठमा पहिलो नतिजा सार्वजनिक भएपछि त्यसको ३५ दिनभित्र नतिजामा चित्त नबुझे आवेदन दिन पनिकाले सूचना जारी गरेको थियो । सोही आधारमा १५ हजार १ सय ३० जना विद्यार्थीले पुनर्योगका लागि आवेदन गरेका थिए । त्यसरी निवेदन दिएका मध्ये १ हजार ४ सय १० जना उत्तीर्ण भएको पनिकाले जनाएको छ ।

पुनर्योगमा केही नतिजा निकै धेरै फरक देखिएको छ । यसअघि जेठमा सार्वजनिक गरिएको नतिजामा ८ नम्बर ल्याएका विद्यार्थीले पुनर्योग गर्दा ८० नम्बर ल्याएका छन् । त्यसैगरी १२ नम्बर ल्याएका विद्यार्थीको पुनर्योगमा ६२ नम्बर पुगेको छ । त्यसैगरी यसअघि ४७ नम्बर आएका विद्यार्थीको पुनर्योगमा ९७ नम्बर आएको छ । यसरी पुनर्योग गर्ने मध्ये १ हजार १ जनाको नम्बर बढेर आएको हो । 

सबैभन्दा बढी गणित विषयमा आवेदन परेको पनिकाले जानकारी दिएको छ । गणितमा पाएको अंकमा चित्त नबुझेर निवेदन दिएका ३ हजार ८ सय १२ जना मध्ये ३ सय १ जना उत्तीर्ण भएका छन् । त्यस्तै अंग्रेजी विषयमा निवेदन दिएका १ हजार ६ सय मध्ये १ सय ८७ जना उत्तीर्ण भएका छन् । 

पुनर्योगमा तीन विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले समेत निवेदन दिएका थिए । यसरी ३ विषयमा अनुत्तीर्ण भएर पुनर्योगका लागि निवेदन दिएका मध्ये १ सय १६ जना पुरक परीक्षामा सामेल हुन पाउने भएका छन् ।

Loading...