७४ झोले विद्यालयमाथि कारवाही

काठमाडौं । जिल्ला शिक्षा समिति महोत्तरीले जिल्लामा अवैध रुपमा रहेका ७४ वटा झोले विद्यालयलाई कारवाही गर्ने निर्णय गरेको छ । जिल्लाको अनुगमनमा पुगेको शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ती विद्यालय तत्काल बन्द गर्न भनेपछि शिक्षा समितिले निर्णय गरेको हो ।
 
यसअघि जिल्लामा ८६ वटा विद्यालय झोले विद्यालय भेटिएका थिए । त्यसमाथि छानविन हुदा ७४ वटालाई अहिले तत्काल बन्द गर्ने र बाँकी विद्यालयलाई संचालन गर्ने निर्णय गरिएको छ । समितिले ६ वटा विद्यालयलाई अरु विद्यालयमा गाभ्ने र ६ वटा विद्यालयलाई संचालनमा ल्याउने निर्णय पनि गरेको छ । संचालनमा ल्याउन भनिएका ६ वटा विद्यालय रहेका क्षेत्रमा विद्यालय नभएको तथा टाढाटाढा भएका कारण तिनलाई बन्द नगरी चलाउने निर्णय भएको बताइएको छ । 
 
शुक्रबार परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका उपनियन्त्रक जितबहादुर शाहको संयोजकत्वमा चार सदस्यीय टोली जिल्लामा पुगेको थियो । 

यसअघि गत पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नायव उपरिक्षक सुदर्शन कोइरालाको नेतृत्वमा खटिएको टोलीले २ सय २५ विद्यालयको कागजात नियन्त्रणमा लिई छानविन थालेको थियो । जिल्लामा हाल ४ सय ९८ विद्यालय रहेका छनु । कागजपत्र नियन्त्रणमा लिएर छानविन गरिएकोमा ८६ विद्यालय झोले रहेको फेला परेको थियो । 

Loading...