जगदम्बा फुडसहित राजधानीका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं, १२ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३-७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ । विभागले अनुगमनबाट प्राप्त कैफियतका आधारमा उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । अनुगमन संख्या बढ्दै गर्दा व्यवसायीको कैफियत पनि धेरै देखिने गरेको विभागका सहायक प्रवक्ता मदन चापागार्इंले जानकारी दिए । विभागले सो अवधिमा ६६ पटक ५४ खाद्य उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

यी उद्योगमा धेरै मुद्दा
विभागले गत आवमा एउटै उद्योगविरुद्ध ४ पटकसम्म मुद्दा दर्ता गरेको छ । विभागले गत फागुनमा भक्तपुरमा रहेको जगदम्बा फुड एन्ड बेभरेज प्रालिलाई न्यून गुणस्तरमा २ र दूषितमा २ गरी ४ पटक मुद्दा दर्ता गरेको सहायक प्रवक्ता चापागार्इंले जानकारी दिए । जगदम्बाले दूध उत्पादन गर्छ । त्यस्तै, भक्तपुरमै रहेको कालिका डेरी र मनमैजुमा रहेको त्रिशूल मिनरल एन्ड बेभरेज प्रालिविरुद्ध पनि समान ३ पटक मुद्दा दायर गरेको छ । बुढानीलकण्ठको प्रशोधित पानी उत्पादक ग्लासियर बेभरेज, चाउचाउ उत्पादक हिमालयन स्न्याक्स एन्ड नुडल्स, बेसन उत्पादक तेजस खाद्य प्रोसेसिङ र दूध उत्पादक सैँजु डेरीविरुद्ध समान २ पटक मुद्दा दर्ता भएको छ ।

बढी कैफियत गर्ने क्षेत्र
नेपाली उपभोक्ता सबैभन्दा बढी प्रशोधित खानेपानीमा ठगिएको अनुगमन प्रतिवेदनले देखाएको छ । प्रशोधित पानीमा पिएच (अम्लीयको मात्रा) तोकिएभन्दा बढी वा घटी राखेर धेरैले पानी बिक्री गर्दै आएका छन् । पिएचको मात्रा तोएिकभन्दा घटबढ हुँदा पानीको वास्तविक स्वाद प्राप्त हुँदैन । गत आवमा २४ खानेपानीले तोकिएकोभन्दा कम गुणस्तर र दूषित पानी उत्पादन गरेको पाइएपछि विभागले मुद्दा दर्ता गरेको छ । त्यसपछि प्याकेटमा उपलब्ध हुने दूध उद्योगविरुद्ध पनि धेरै मुद्दा दायर भएको तथ्यांक छ ।

Loading...