शान्तिनगर सुकुम्वासी टाेलबाट चाेरीका सामानसहित ६ पक्राउ

काठमाडौँ, ४ माघ । महानगरपालिका–३१ शान्तिनगरस्थित सुकुम्बासी टोलबाट चोरी गरेका विभिन्न सामानसहित ६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ शान्तिनगरस्थित सुकुम्वासी टोल बस्ने नुवाकोटका शशी तामाङ, सर्लाहीका सरोज मगर, सोही सुकुम्वासी टोलका सुमन कलवार, काठमाडौ जोरपाटीका अजय मगर, रामेछापका भानु मगर र सर्लाहीका सुमन माझी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले सुकुम्वासी टोलमा चेकजाँचका क्रममा उनीहरुको साथबाट चोरी गरी ल्याएको सुनको मङ्गलसुत्र, ल्यापटप दुई थान, विभिन्न कम्पनीको मोबाइल १७ थान र नगद बरामद गरेको छ ।

यता काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरबाट लुटपाट गरेको मोबाइल तीन थानसहित काठमाडौँ पेप्सीकोला बस्ने सिन्धुपाल्चोकका आयुष ठकुरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Loading...