मिडिया कानुन र मिडिया अधिकारमाथि जाजरकोटमा बहस

जाजरकोट, २ माघ । क्रान्तिकारी पत्रकार संगठन, नेपालले बुधवार जाजरकाेटकाेटमा मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली मिडिया र मिडियाकर्मीहरुकाे विद्यमान अवस्था पहिचान गरी साझा निस्कर्षमा पुग्नका लागि संगठनले जाजरकोटमा पत्रकार र कानुन व्यवसायीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपाललका अध्यक्ष डिल्लीराज रावतले “नेपाली मिडिया, केन्द्र भर्सेज मोफसल र मिडिया कानुनमाथि बहस” शिर्षकको अबधारणा पत्र प्रस्तुत गरेका थिए । उक्त अबधारणा पत्रमा आफ्नो धारणा राख्दै अधिवक्ता नीमबहादुर शाहीले गत भदौ १ गते जारी देवानी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले गोपनीयताको कसुरलाई पनि फौजदारी कसुर मान्ने र सरकारवादी मुद्दा हुने प्रावधानले पत्रकारहरुलाई अफ्टेरो अवस्थामा पुरयाएको बताए । संहिताले कुन्ठित गरेका पत्रकारहरुको पेशागत अधिकारका पक्षमा कानुन ब्यवसायी सबैले साथ दिनुपर्ने अधिवक्ता शाहीले बताए ।

कार्यक्रममा बाेल्दै अधिवक्ता भक्तबहादुर मल्लले सरकारले राम्रोसँग नबुझेरै संविधानमा खाद्य सम्प्रभुताको हकको व्यवस्था गरेको  बताए । नजानिदो तरिकाले संविधानमा मौलिक हकको ब्यबस्था गर्दा गोपनियताको हकले नागरिकलाई कमजाेर बनाएको उनकाे भनाइ थियाे ।

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघ जाजरकाेट शाखाका अध्यक्ष भीमबहादुर सिंहले पत्रकारले नागरिकको पक्ष लिने कि ? सरकारको पक्ष लिने भन्ने कुरामा अझै पनि पत्रकारहरु स्वयम प्रष्ट हुन नसकेकाे बताए । उनले पत्रकार संधै जनताको पक्षमा र सरकारका विपक्षमा हुनुपर्नेमा जाेड दिए । स्थानीय सरकारले मिडिया विकासको लागि कुनै पनि वास्ता नगरेको वताउदै श्रमजीवी पत्रकारको मुद्दालाई लिएर क्रान्तिकारी पत्रकार संगठनले देश व्यापीरुपमा संचालन गरेको राष्ट्रिय अभियान सफलताको शुभकामना व्यक्त गरे ।

त्यसैगरी पत्रकार बिरबहादुर गिरीले अनुभव बिहिनतावाट गरिएको संघियताको अभ्यासबाट कोही पनि नागरिक सन्तुष्ट हुन नसकेको बताउदै सरकारले मिडिया र पत्रकारमाथि अङकुश लगाउन खोजेको बताए । उनले भने, ‘वर्गीय पक्षधरताका आधारमा गर्ने पत्रकारिताका कारणले सरकार पत्रकारप्रति निरंकुश बन्दै गएको हाे वा हामी पत्रकारले स्वतन्त्रताका नाममा उदण्डताको माग गरिरहेका छौं भन्ने कुराको बहस हुन आबश्यक छ ।’

माेफसलका पत्रकार आफै केन्द्रमुखी भएको बताउँदै पत्रकार जनक केसीले आफैले संचालन गरेका स्थानिय मिडियामा लगानी प्रवद्र्धन गर्नुपर्नेमा जाेड दिए । साे क्रममा उनले २०१५ सालको आम निर्वाचन पछि दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका विपी कोईरालाले मिडियामा लगानी गरेर सरकारका विरुद्ध लेख्न लगाएको बताए ।

संगठनले देशब्यापी रुपमा संचालन गरेको अभियानका क्रममा जाजरकोटका कानुन व्यवसायी र पत्रकारहरुले संगठनलाई दिएका महत्वपूर्ण सुझावलाई संगठनले संस्थागत गरेर अगाडि बढ्ने अध्यक्ष डिल्लीराज रावतले जानकारी दिए ।

 

Loading...