के प्रधानमन्त्री ओली निजी विद्यालय बन्द गर्न लागेकै हुन ? निजी विद्यालय बन्द गर्न के गरिदैछ ?

काठमाडौँ । उच्च स्तरीय शिक्षा आयोगले अाफ्नाे प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । आयोग गठन भएको ५ महिना ७ दिनमा आयोगले प्रतिवेदन सरकारलार्इ बुझाएकाे हाे ।

करिब ४ सय ७६ पृष्ठ लामो प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरु बन्द हुने ठाेकुवा गरेका छन् । अाेलीले साे अवसरमा केही वर्षमा निजी विद्यालयहरु आफै भाग्ने बताए । सामुदायिक विद्यालयको अवस्था कमजोर रहेकाले नै निजीको दादागिरी चलेको भन्दै अब त्यो लामो समय नचल्ने ओलीले दाबी गरेका हुन् ।

‘निजी विद्यालयलाई माया गरी पुल्पुल्याएर पनि राखिन्न र प्रतिबन्ध पनि लगाइन्न’– ओलीले भने, ‘सामुदायिक विद्यालयको सुधार गछौं, निजीहरु आफै टाप कस्छन् ।’

प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग – २०७५ को प्रतिवेदन बुझ्दै मङ्गलवार ओलीले निजी विद्यालयहरुलाई तत्काल बन्द गर्दा विद्यार्थीको चाँप सामुदायिकले धान्न नसक्ने स्पष्ट पारे ।

विदेशी विश्वविद्यालयहरुले दिने विभिन्न छात्रवृत्तिका लागि पनि सामुदायिक विद्यालयको उत्पादनले नधान्ने भन्दै केही वर्ष सामुदायिक विद्यालयको सुधारमा सरकार केन्द्रीत रहने ओलीले बताए ।

अब सबैभन्दा उत्कृष्टहरुलाई शिक्षण पेशामा भित्राइ उनीहरुलाई दक्ष र जिम्मेवार बनाइने उल्लेख गर्दै प्रम ओलीले सामुदायिक विद्यालयको जगै देखि सुधार गर्ने बताए ।

अब हरेक विद्यार्थीलाई आफ्नो क्षमता, प्रतिभा र रुची अनुसारको विषय पढ्ने अवसर दिइने भन्दै प्रम ओलीले शिक्षालाई समृद्ध नेपाल सुखी नेपाली नारालाई सार्थक बनाउने दिशामा अगाडि बढाइने स्पष्ट पारे । अब देशलाई माया गर्ने शिक्षाको विकासमा सरकार जुटेको ओलीले दावी गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए । आयोगले बुझाएको प्रतिवेदन बुझ्दै ओलीले यसको व्यापक अध्ययन गरेर नीति कै रूपमा कार्यान्वयनमा लग्ने स्पष्ट पारे ।

५ महिना ७ दिन लगाएर आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन सफल भएको हो । आयोगले प्रतिवेदन यार पार्न २७ बैठक, १२ विषय क्षेत्रमा विभिन्न अध्ययन र छलफल, ४ हजार बढीसँग छलफल र अन्तक्र्रिया गरेको थियो ।

शिक्षा विकास, शिक्षाको दूरदृष्टि, शिक्षाको भावि मार्गदर्शन, राष्ट्रिय शिक्षा नीतिलगायतको विषयमा सुझाब समेटिएको २७ परिच्छेदको प्रतिवेदनमा शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार बनाउन लगानी वृद्धि गर्नुपर्नेलगायतका विषय अटाएका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिवेदनमा हिजोको शिक्षण केन्द्रित शिक्षालाई सिकाइ केन्द्रीत बनाइने, शिक्षण सिकाइलाई विद्यालयको बन्दकोठाभन्दा बाहिर ल्याइन, प्रविधियुक्त सिकाइ र प्रतिभा प्रस्फुटनका लागि सिकाइका लागि शिक्षकबाटै सुधार गरिने विषय समेटिएका स्पष्ट पारे ।

Loading...