फुट्यो विवेकशील साझा, उज्वलले रञ्जुसहित ४२ प्रतिशत लिएर खोले विवेकशील

काठमाडौं, २७ पुस । वैकल्पिक राजनीति गर्दै आएको भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ।। केही दिनअघि पार्टी संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएपछि पार्टीभित्र चरम मदभेद सुरु भएको थियो। उक्त प्रतिवेदनपछि रवीन्द्र मिश्र र थापाबिचको बिबाद छताछुल्ल भएको थियो ।

‘सहभागितामूलक, समन्वयकारी, परिपूरक नेतृत्वहरुद्वारा दल सञ्चालित हुनुपर्नेमा झनै सीमित थोरै नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको स्थिति। दल भित्रका सदस्यहलाई जिम्मेवारी दिन चरम हिच्किचाहट वा डर वा अनुदारताले दल हराएको जस्तो देखिएको,’ प्रतिवेदनमा भनिएको छ।

थापाले दलले होस र जोसलाई अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउनमा चासो कम देखिएको, दलले गति लिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, डरको राजनीति हाबी भएको लगायतका बुँदामा रही पार्टीका समस्याका जडहरु केलाएका थिए।

पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको एक नेताले बताए। पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

उक्त पार्टीमा ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरे पनि अर्का संयोजक रवीन्द्र मिश्र पक्षले भने त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।

‘हामीले भन्दै आएको सुसंस्कृत र बैकल्पिक राजनीति हुँदैन भन्ने लाग्यो’ एक नेताले भने, ‘यसरी सँगै बस्नुभन्दा अलग अलग रुपमा बस्नु बेस भन्ने भयो ।’ रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको थियो।

Loading...