काठमाडौं अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ’ सम्मेलन सुरु

स्मार्ट कम्युटिङ सम्मेलनमा चीन, जापान, भारत, थाइल्याण्डलगायतका देशका शोधकर्ता सहभागी

काठमाडौँ, १४ पुस । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिन ‘नवौँ राष्ट्रिय सूचना प्रविधि एवं चाँैथो अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ सम्मेलन’ आयोजना गरिएको छ ।

कलेज अफ इन्फरमेसन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनमा चीन, भारत, थाइल्याण्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताको सहभागिता रहेको कलेजका निर्देशक बिजुलीप्रसाद राणाले जानकारी दिए ।

उनका अनुसार संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासका बारेमा सम्मेलनमा ३९ वटा कार्यपत्रमाथि छलफल गरिएको छ ।

सम्मेलनमा मोबाइल कम्युटिङ, स्मार्ट कम्युटिङ, क्लाउड कम्प्युटिङ, ग्रिन कम्प्युटिङ, बिग डाटा, अप्टिकल कम्युनिकेसन एण्ड नेटवर्किङ, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इण्डस्ट्रियल रोबोटिक्स, आइसिटी फर डिजास्टर म्यानेजमेन्टलगायतका विषयमा विभिन्न कार्यपत्र प्रस्तुति गरिएको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल इञ्जिनीयरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले सूचना प्रविधिका विद्यार्थी तथा अनुसन्धानकर्ता, सरोकारवालाका लागि सम्मेलन महत्वपूर्ण हुने बताए ।

सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीका एशोसिएट प्रा डा मोहम्मद एबुल्लाहले सूचना तथा प्रविधिसम्बन्धी आफ्नो प्रस्तुति गरेका थिए ।

Loading...