कर्मचारीको व्यापक विरोधका बाबजुत समायोजन अध्यादेश राष्ट्रियसभामा प्रस्तुत

काठमाडौँ, ११ पुस ।राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गरेका हुन् । संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न उक्त अध्यादेश गत मङ्सिर २३ गते जारी भएको थियो ।

बैठकले पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर र मोतिदेवी थारूको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । काङ्ग्रेसका तर्फबाट २०५१ र २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित बाँस्तोलाको ७२ वर्षको उमेरमा गत असोज २७ गते निधन भएको थियो ।

तत्कालीन नेकपा (एमाले)का तर्फबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभमा निर्वाचित तुलाधरको ७६ वर्षको उमेरमा गत कात्तिक १८ गते निधन भएको थियो । २०६३ सालमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट अन्तरिम व्यवस्थापिका–संसद् सदस्य रहनुभएकी थारूको ४५ वर्षको उमेरमा गत मङ्सिर १० गते निधन भएको थियो ।

बैठकको शुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही पुस १३ गते बिहान ११ बजे बस्नेछ ।

Loading...