शासक, हनुमान र किनाराका साक्षीहरु

कवि : हिमालचन्द्र बराल

शासकहरु सधैं दासहरु खोज्छन्
उनीहरु बुख्याँचाहरु तयार गरेर
तिनकै टाउकोमा टेक्दै
राज्यसत्ताको बार्दलीमा उक्लिन्छन्

‘तिमीहरु बलिदान गर्न जन्मेका हौ’
‘तिमीहरू सहिद हुन जन्मेका हौ’
‘र शहीदभन्दा महान् अरु कोही हुँदैन ‘
‘युगलाई हाँक्ने चक्का हौ तिमीहरू’

इतिहासको प्रत्येक कुइनेटोमा
शासकहरु यसरी नै ब्रेनवास गर्छन्
वायुपंखी ऊर्जाधारी युवाहरूको
र घोडा बनाएर सत्ताको यात्रा गर्छन्
हट् घोडा हट् ! हट् घोडा हट् !

प्रत्येक शासकले सत्तारोहणसँगै
अाफूलाई घाेषणा गर्छ -युगनायक
नवीन युगको अारम्भकर्ता
र बफादार हनुमानहरु
यज्ञमा अर्पित अाहुतिझैं
तिनको पाउमा अाफूलाई समर्पित गर्छन्
इतिहासको रङ्गमञ्चमा दोहोरिरहन्छ
यही घीनलाग्दाे प्रहसन बारम्बार
कहिले मजाकको रुपमा
कहिले भयानक दु:स्वप्नको रुपमा

केवल फेरिन्छन्
शासक, हनुमान र किनाराका साक्षीका अनुहारहरु …

Loading...