कवि तीर्थ श्रेष्ठले पाए भूपी काव्य पुरस्कार

पोखरा । भूपी काव्य पुरस्कारबाट कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन्। भूपी शेरचनको ८३ औँ जन्मजयन्तीको अवसरमा मंगलबार उनलाई पुरस्कारबाट सम्मानित गरिएको हो। ताम्रपत्रसहित पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कवि श्रेष्ठलाई सो पुरस्कारबाट सम्मानित गरे। थकाली सेवा समिति पोखरा पुरस्कारको संचालक हो। नेपाली साहित्यको क्षेत्रमा कविताको माध्यमबाट महत्वपूर्ण योगदान पु-याएकोले कवि श्रेष्ठलाई सम्मान गरिएको थकाली सेवा समितिले जनाएको छ।

पोखरामा बसेर साहित्य सृजनामा क्रियाशिल कवि तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट, महाभारतका गीतहरु मुक्तक संग्रह र मेरै हिमालजस्तो गीत संग्रह प्रकाशित छन्।

पोखरेली युवा सांस्कृतिक परिवार, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, संगीत प्रशिक्षण केन्द्र लगायतका संस्थामा आवद्ध श्रेष्ठ नेपाल संगीत नाट्य एकेडेमीका पूर्व सदस्य सचिव पनि हुन्।

भूपी शेरचनको परिवारजनले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने यो पुरस्कार यसअघि गीतकार रत्नशमशेर थापालाई प्रदान गरिएको थियो। सुरुमा १० हजार रुपैयाँ रहेको पुरस्कार राशीलाई ५० हजार रुपैयाँ पु-याएर राष्ट्रियस्तरको बनाइएको हो।

भूपी काव्य स्मृति पुरस्कारबाट कवि सरस्वती प्रतीक्षा र मोमिला सम्मानित भईसकेका छन्। १९९२ साल पुस १० गते जन्मिएका भूपी शेरचन नेपाली कविताको धरोहर मानिन्छन्। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (०२६) उनको विशिष्ठ कृति हो।

Loading...