बढ्यो उपभोक्ता मुद्रास्फिती

काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा गत वर्षको कात्तिक महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा गत कात्तिक महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा चार दशमलव पाँच प्रतिशत पुगेको छ ।

विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत उपभोक्ता मुद्रास्फति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो ।

यस्तै गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा ६.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत थियो । यस समूहअन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरूको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत कात्तिक महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव तीन प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति दुई दशमलव तीन प्रतिशत थियो ।

समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरूको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गत कात्तिक महीनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव दुई प्रतिशत र भारतको दुई दशमलव तीन प्रतिशत छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति तीन दशमलव नौ प्रतिशत र भारतको चार दशमलव नौ प्रतिशत थियो । गत कात्तिक महीनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति आठ दशमलव छ प्रतिशत छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति शुन्य दशमलव आठ प्रतिशत थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुको मूल्यमा वृद्धि भएकोले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।

बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई सो अवधिमा आठ दशमलव पाँच प्रतिशत कर्जा दिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो कर्जा छ दशमलव सात प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा आठ दशमलव तीन, विकास बैंकको ११ दशमलव दुई र वित्त कम्पनीको पाँच दशमलव एक प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा गत कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई प्रवाह गरेको कर्जा २४ दशमलव पाँच प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६३ दशमलव दुई प्रतिशत कर्जा घर जग्गाको धितोमा गएको छ । यस्तै १४ दशमलव सात प्रतिशत कर्जा कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।

गत वर्षको कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलव दुई र १४ दशमलव पाँच प्रतिशत थियो ।

Loading...