विश्वकप छनोट हुने नेपालको सपना सपनामै सीमित । अफगानस्तानसँग ९६ रनले पराजित

काठमाडौं, १० साउन । विश्वकप छनौट अन्तर्गत आज मंगलबार भएको खेलमा नेपाल अफगानस्तानसँग पराजित भएको छ । अफगानस्तानको यु १९ टोलीले नेपाललाई ९६ रनले पराजित गरेपछि नेपालको विश्वकपमा छनौट हुने सपनामा ब्रेक लागेको छ ।

सिंगापुरमा भएको छनौट चरणको अन्तिम खेलमा पराजित भएपछि नेपालको यात्रा टुंगिएको छ भने विजेता अफगानिस्तानी टोली अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू१९ विश्वकपमा सहभागी हुने सुनौला मौका पाएको छ ।

अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भएपछि ९६ रनले पराजित भएको हो । दुई अंकले पछि परिसकेको नेपाललाई विश्वकपमा स्थान बनाउन अफगानिस्तानमाथि निकै ठूलो अन्तरको जित निकाल्नु पर्ने थियो । तर, नेपालले ठूलो अन्तरको हार पो ब्यहोर्‍यो ।

आजको खेलमा नेपालको खेल निकै कमजोर देखिएको थियो । १९६ रनको ठूलो लक्ष्य पछ्याएको नेपालको सुरुवात नै राम्रो हुन सकेन । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रनको योगदान दिए । पाचौं नम्बरमा आएका दिपेन्द्रले ८१ बल खेलेर ७ चौकार र १ छक्का प्रहार गरे । ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दिप सुनारलाई व्यक्तिगत ६ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि २ रनको स्कोरमा आउट भए ।

तेस्रो नम्बरका प्रनित थापामगरले खाता खोल्नै सकेनन् भने अनिल साह पनि ६ रनमै आउट हुँदा नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । १७औं ओभरमा नेपालले पाँचौं विकेटका रुपमा रोहित कुमार पौडेललाई गुमायो, उनले ३ रनमात्र टिमको खातामा थप्न सके ।

पाचौं नम्बरमा आएका दिपेन्द्रले पवन सर्राफसँग मिलेर छैटौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ३३.२ र ३४.६ ओभरमा क्रमसः पवन सर्राफ १० र दिपेन्द्र सिंह ऐरी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालको स्कोर ८५ भयो । त्यसपछि आएका विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले पनि १० रनमात्र बनाए । नेपालका कप्तान सन्दिप लामिछानेले २ र शाहव आलमले अविजित २ रन बनाए । बलिङतर्फ अफगानिस्तानका युसुफ जाजीले ४ तथा मुजिव रहमानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । अफगानस्तानका लागि ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । उनको विकेट लिन नसक्नु नै नेपालका लागि घातक बन्यो । छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट जादरानलाई क्याच गराए । अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए ।

नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, कप्तान सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।

Loading...