क्रिस्मसमा अमेरिकामा कर्मचारीले तलब नै पाएनन, बजेट अभावमा काम रोकियो

एजेन्सी । इसाई धर्माबलम्बीहरूको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरू घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरू विदामा गएका हुन् ।

अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द रहेका छन् ।

बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रूपमा प्रभावित भएको हो । सोमबार तेस्रो दिन पनि कर्मचारीले तलब नपाएपछि कार्यालय बन्द भएको अधिकारीहरूले जनाएका छन् । संघीय सरकार अन्तर्गतका झण्डै चार लाख कर्मचारीहरू यसबाट मर्कामा परेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि छुट्याइनु पर्नेमा जोड दिएपछि समस्या भएको हो ।

ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानूनी रूपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने बाचा गरेका थिए । तर त्यो काम अहिलेसम्म शुरु हुन सकेको छैन ।

ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोजेका छन् । ट्रम्पले पर्खालका लागि रु पाँच अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनु पर्ने बताउँदै आउनुभएको छ । तर यसमा सिनेट तथा हाउसका सदस्य खुशी भएका छैनन् ।

नयाँ सहमति नभएसम्म अमेरिका सरकारका एक चौथाई सङ्घीय कार्यालयको दैनिक कार्यसञ्चालका लागि चाहिने रकम अभाव भएको छ ।

यसका कारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गतका कार्यालयको काम बन्द भएको छ । खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जङ्गलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिनेछन् ।

सन् २०१८ मा सरकारी कार्यालयमा बजेट अभावका कारण आंशिक रूपमा काम रोकिएको घटना यो पहिलो भने होइन । यसै वर्षमा अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रो पटक हो ।

Loading...