भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री शरिफलाई अदालतले सुनायो सात बर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ ।

भ्रष्टाचारसम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहनुभएका शरीफलाई अदालतले आज अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो ।

फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका शरिफले भने आफुमाथि लागेका भ्रष्टाचारसम्वन्धी सवै आरोपहरूको खण्डन गरेका छन । उनले पाकिस्तानमा प्राय हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउदै आएका छन् ।

सोमबारको फैसलामा राज्य शक्ति र श्रोतको दुरूपयोग गरेर मध्यपूर्वमा पारिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ ।

पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उनलाई अदालतले १५ लाख पाकिस्तानी रूपैँया जरिवाना समेत तोकेको समाचार प्रसारण गरेको छ ।

थुनामा रहेका शरीफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरूले जनाएका छन् । फैसला सुनाइएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

फैसलापछि शरीफ र उनको पार्टीका समर्थकहरूले अदालतविरुद्ध आक्रोस व्यक्त गरेका थिए भने उनीहरूलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

शरिफको पार्टी पिएमएल—एनका नेता शहिद खाक्वान अब्बासीले अदालतको फैसलाका विरुद्धमा पुनरावेदन दिने बताए ।

“पाकिस्तानी जनता र इतिहास अदालतको यो निर्णय स्विकार्न तयार छैनन्,” अब्बासीले इस्लामावादमा पत्रकारहरूसँग भने ।

अदालतले शरीफलाई आजिवन राजनीतिमा अयोग्य पनि घोषणा गरेको छ । भ्रष्टाचारसम्वन्धी अनुसन्धान गर्ने निकायहरूले शरीफका अन्य फरक फरक तीन मुद्दामा पनि अनुसन्धान गरिरहेका छन् ।

पाकिस्तानमा गत जुलाईमा भएको आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका शरीफ उनकी छोरीसहित पक्राउ परेका थिए ।

Loading...