पार्टी एकलौटी चलाए दुर्भाग्य हुने माधव नेपालको चेतावनी

काठमाडौ, ७ पुस । लामाे समयदेखि पार्टीमा असन्तुष्टी राख्दै अाएका माधव कुमार नेपालले नेताहरुलार्इ चेतावनी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपालले प्रमुख नेताहरुले पार्टी एकलाैटी रुपमा चलाउन थालेकाे भन्दै यस्ताे गरिए ठूलाे दुर्भाग्य हुने चेतावनी दिए । उनले एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै
बैठकमा ठूलाे आक्रोस ब्यक्त गरे ।

शनिबार पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा बसेको बैठकमा नेता नेपालले नेतृत्व पंक्ति एकलौटी हुन खोजेको भन्दै त्यस्तो सोच नबदलेेमा ठूलाे भूल हुने चेतावनी दिए । बैठकमा अनसन्तुष्ट नेताहरुको पक्ष लिने प्रयास उनले गरेका थिए । नेता नेपालले पार्टीमा नेतालाई पूजा गर्ने प्रवृत्ति मौलाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

यसैगरी बैठकमा नेता झलनाथ खनालले सरकारकाे कडा अालाेचना गरेका छन् । बैठकमा प्रस्तुत भएको प्रतिवेदनमाथि टिप्पणी गर्दै खनालले ‘जनताको जनवाद’लाई पार्टीले न्यूनतम कार्यक्रम बनाउनुको औचित्य नभएको बताए ।

अध्यक्षद्वयले प्रस्तुत गरेकाे प्रतिवेदनकाे आलोचना गर्दै शनिबारको बैठकमा नेता खनालले भने- ‘प्रतिवेदनले न्यूनतम कार्यक्रम जनताको जनवाद भनेको छ। जनताको जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, जनताको बहुदलीय जनवादको युग सकियो। फेरि जनताको जनवादलाई न्युनतम कार्यक्रम बनाउनुको औचित्य छैन।’

यस अघि शुक्रबारको बैठकमा पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठ र मणि थापाले प्रतिवेदनमा उल्लेखित ‘जनताको जनवाद’ प्रति आपत्ति जनाएका थिए। उनीहरुले अध्यक्षद्वयको प्रतिवेदन उल्लेखित ‘जनताको जनवाद’ भन्ने शब्दावलीमा पार्टी एकताको बेला सहमति नभएको बताएका थिए।

पूर्व माओवादी नेताद्वयको बोलीलाई साथ दिदै खनालले भने जनताको जनवादको भूमिका सिद्धिएको बताउदै यस्तै प्रतिवेदन ल्याउने हो भने त्यसले गम्भीर भड्काव ल्याउने चेतावनी समेत दिएका छन्।

०७४ फागुन ७ मा तत्कालीन एमाले र माओवादीले एकताका प्रारम्भिक आधारहरु सार्वजनिक गरेका थिए। त्यसको चौथो बुँदामा भनिएको थियो– ‘नेकपा (एमाले)ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवाद केन्द्र)ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ।’

त्यस्तै, ०७५ जेठ ३ गते दुई पार्टी बीच एकता गर्दा जारी गरिएको संयक्त घोषणापत्रमा भनिएको थियो– ‘नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीका जनवादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवादउन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ।’

जारी बैठकको पहिलो दिन मंसिर २९ गते अध्यक्षद्वयद्वारा पेस गरिएको राजनीतिक प्रतिवेदनमा अधिकतम कार्यक्रमको रुपमा वैज्ञानिक समाजवाद र न्युनतम कार्यक्रमको रुपमा जनताको जनवादलाई सैद्धान्तिक एवं नीतिगत विषयलाई पार्टी एकताको मुख्य आधार बनाइएको उल्लेख छ।

एकीकरण प्रक्रियामा भएको ढिलाइका विषयमा पनि खनालले असन्तुष्टि व्यक्त गरेका थिए। ‘तलका कमिटी विघटन गरेपछि तीन महिनाभित्र एकीकरण गरिसक्नुपर्थ्यो’, उनले भनेका थिए।

खनालले मापदण्ड बनाएर तल्ला कमिटी र जनवर्गीय संगठनको एकता तुरुन्त सक्नुपर्ने बताएका थिए। उनले केन्द्रीय सदस्यको कार्यविभाजनलाई छिटो सक्न भनेका थिए। स्थायी समितिले व्यवस्था गरेभन्दा फरक विधान प्रकाशित भएको भन्दै नेता खनालले त्यसलाई टुङ्गो लगाउन माग गरेका छन् ।

शनिबारकाे बैठकमा रामबहादुर थापा र गिरिराजमणि पोखरेललगायत नेताहरुले पार्टीमा गुट उपगुटको अन्त्य हुनुपर्ने बताए । त्यसअघि नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरुले भने यसअघि नै बोलिसकेका छन ।

Loading...