सीमास्तम्भ छोएर अन्तराष्ट्रिय नियम विपरित दसगजा क्षेत्रमा भारतले बनायो सडक

नेपालगन्ज, ७ पुस । भारतले नेपालकाे सीमाना क्षेत्रमा लगातार एकतर्फी उच्च सडक निर्माण गर्दै अाएकाे छ । दुर्इ देशकाे सीमा दसगजा क्षेत्रमै अन्तराष्ट्रिय नियम विपरित भारतले एकतर्फी सडक बनाएर नेपाली भूभाग डुवानमा पार्ने हर्कत गरेकाे भएपनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन सकेकाे छैन ।

बाँकेकाे सीमा क्षेत्र हिरमनियाको दसगजा नजिक भारतले विगत चार वर्षदेखि निर्माण सुरु गरेको सडकलाई भारतले १५ दिन यता पुनः निरन्तरता दिइएको छ । दुई देशीय सिमाना छुट्याउने दसगजा क्षेत्रभित्र रहेका पिलरकै छेउबाट करिब पाँच मिटर उचाइ र ३० मिटर चौडाइकोे सडक निर्माण गरिएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाको रुपैडिया नाकानजिकै जमुनाहा र पिप्रहवाको दसगजा क्षेत्रमा साे सडक निर्माण हुन थालेको छ । भारतले उक्त सडक बाँकेको पूर्वी क्षेत्र नरैनापुरदेखि पश्चिम राधापुरसम्म विस्तार गरिसकेको छ । निर्माणाधीन सडकको केही भाग कालोपत्रे गरिसकेको छ, भने जमुनाहा र पिप्रहवा क्षेत्रमा भर्खरै मात्र निर्माण सुरु गरेको स्थानीय राधेश्याम खटिकले बताए ।

भारतले अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरीत वर्षौंदेखि एकतर्फी रूपमा दसगजा क्षेत्रमा संरचना निर्माण गरे पनि नेपाली सरकारी अधिकारी भने अहिलेसम्म मौन छन् । अन्तर्राष्ट्रिय नियमअनुसार दुई देशको सीमास्थित दसगजा क्षेत्रमा असर पुग्ने खालको संरचना निर्माण गर्नुपरे दुई देशबीच सहमति हुनुपर्छ । तर, भारतीय पक्षले भने नेपालसँग सहमति नलिएरै एकतर्फी रूपमा सडक बनाइरहँदा समेत सरकारी पक्ष मौन बसेको स्थानीयको भनाइ छ ।

सरकारी उदासिनताका कारण भारतले जबरजस्ती सडक बनाइरहेको जमुनाहकी स्थानीय गुड्डी खटिकले बताइन् । “यो अग्लो सडकले पानी थुनिएर नेपालतर्फको हाम्रो बस्ती डुबानमा पर्छ,” उनले भनिन्, “सरकारले उक्त कार्य रोक्न समयमै पहल थाल्नुपर्छ ।”

केही समय रोकिएको बाँकेको सीमावर्ती क्षेत्रको उक्त सडक पुनः निर्माण हुन थालेपछि जिल्लाका जमुनाहा, पिप्रहवालगायत क्षेत्रका स्थानीय बासिन्दा बस्ती डुवानमा पर्ने भन्दै चिन्तित छन् ।

चार वर्षअघि निर्माण सुरु हुँदा हिरमिनिया लगायत आसपासका गाउँमा यसअघिकै सामान्य बर्खामा समेत डुबानमा पर्दै आएका छन् । बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले लक्ष्मणपुर बाँध पीडित संघर्ष समिति गठन गरी विरोध गर्दै आए पनि निर्माणकार्य भने धमाधम भइरहेको छ ।

सरकारी मौनताका कारण आफूहरूले जति संर्घष गरे पनि भारतले सीमा क्षेत्रमा पटकपटक ज्यादती गर्दै आएको लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए । “विगतदेखि नै हामीहरूले आवाज उठाउँदै आएका छौं,” उनले भने, “हाम्रो सरकार बोल्दैन, भारतीयले त्यसको फाइदा उठाउँदैछ ।”

नेपाली पक्षको दबाबका कारण उक्त सडकको हिरमिनिया क्षेत्रमा विरोध गरेको समयमा पानी निकासका लागि भन्दै कल्भर्ट र ह्युम पाइप राखे पनि त्यहाँ डुबान समस्या यथावत छ ।

 

Loading...