जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन

जनकपुरधाम, ७ पुस । ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ ।

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र मैथिली साहित्य उत्सव नेपालद्वारा आयोजित सो सम्मेलनमा नेपाल र भारतका मैथिली भाषा अभियानी, साहित्यकार, कलाकार, भाषाविद् पुरातत्वविद् र संस्कृतिविद्को सहभागिता रहेको छ । सम्मेलनमा मैथिली भाषाको अवस्था, मैथिल संस्कृति, पुरातत्वाविक सम्पदा, साहित्य विवेचना, प्रादेशिक अवस्था, प्रदेश नं २ मा मैथिली भाषालाई न्याय दिलाउने विषयमा चिन्तन मनन गरी सरकारको ध्यानाकर्षण र कार्यान्वयन गराउन जनकपुर घोषणापत्र जारी गरिने जनाइएको छ ।

सो अवसरमा प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मैथिली भाषाको सम्वेगलाई युग सम्वेगसँग समाहित गरी अगाडि बढनु जरूरी छ भने । उनले संविधानको प्रावधान, प्राचीनता र माधुर्यताले मैथिली भाषालाई कामकाजको भाषाका रूपमा आगामी दिनमा कार्यान्वयन हुन सकिने सम्भावना रहेकाले यसको स्वरूपलाई आम पाठकबीच सहजीकरण गर्नुपर्ने खाँचो औँल्याए । 

भाषाविद् डा रामावतार यादवले भाषिक दृष्टिले प्रदेश नं २ मा अग्र रहेका कारण कामकाजको भाषाका रूपमा प्रदेश सरकारले मान्यता दिनु आवश्यक भएको धारणा राखे । भाषा अभियानी वैधनाथ चौधरी बैजु, सुनील मल्लिक, अशोक झा, प्रवीणनारायण चौधरी, श्यामसुन्दर शशिलगायतले मैथिली भाषाको मान्यताका बारेमा अनावश्यक विवाद गर्नु चिन्ताको विषय भएको बताए । 

समारोहमा प्रदेश प्रमुख कायस्थले गायक रामा मण्डल, साहित्यकार डा जयनारायण यादव र भाषा अभियानी स्व योगेन्द्रप्रसाद साहलाई मिथिला रत्न, भोजपुरी साहित्यकार गोपाल अश्कलाई मिथिला श्री र अभियानी दीपक झालाई अन्तर्राष्ट्रिय सद्भाव सम्मान प्रदान गरे । 

सम्मेलनका संयोजक रामभरोस कापडीको अध्यक्षतामा भएको सो समारोहमा विभिन्न कृति विमोचन र कापडिद्वारा लिखित गीत सार्वजनिक गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ ।

Loading...