अन्तर–कोरियाली पूर्वाधार परियोजनामा अमेरिकी समर्थन

सियोल, ७ पुस । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच अर्को साता उत्तर कोरियामा आयोजना हुने अन्तर–कोरियाली कार्यक्रमका लागि सहमति भएको सियोलका वरिष्ट कुटनीतिज्ञले बताएका छन् ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिफन बाइगनसँगको भेटवार्ता पश्चात् ली डो–हूनले अमेरिकासँग विगतमा भएको सम्झौता बमोजिम कोरियाली युद्धमा उत्तर कोरियामा मारिएका व्यक्तिको अवशेष खोजीसम्बन्धी परियोजना शुरु हुने बताए । लीले उत्तर कोरियालीमा भाइरल फ्लुका बिरामीका निम्ति टामिफ्लु औषधि उपलब्ध गराउन पनि सहमति भएको जानकारी दिए ।

उत्तर कोरियाली सीमावर्ती सहर काइसोङमा दुई कोरियाबीच सडक एवं रेलमार्ग पुनः शुरु गर्नेसम्बन्धी भव्य कार्यक्रम आगामी बुधबार गर्ने निर्णय पनि भएको छ ।

उत्तर कोरियामाथिका अमेरिकी र राष्ट्रसङ्घीय प्रतिबन्धहरु हटाउन उत्तर कोरियाले निरन्तर आग्रह गरिरहेको छ, तर पूर्ण सहमति हुन सकेको छैन । उत्तर कोरियाको आणविक कार्यक्रम पूर्ण रुपमा बन्द गरिएको यथार्थ र विश्वासिलो आधार तयार नहुँदासम्म अमेरिकी प्रतिबन्ध कायम रहने अमेरिकी भनाइ छ ।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच सन् २०१९ को शुरुमै पुनः अर्को शिखर बैठक गर्ने तयारी पनि थालिएको छ । अमेरिका र उत्तर कोरियाबीच तनाब कम गर्ने प्रयत्न भए पनि उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध सुधारका लागि विभिन्न कार्यक्रम जारी छन् ।

Loading...