यूनिभर्सल पावर कम्पनीको आइपिओ आयोजना प्रभावित क्षेत्रका लागि मात्र

काठमाडाै, ६ पुस । यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ ।

आयोजना प्रभावित दोलखाको गौरीशङ्कर, कालिञ्चोक र विगु गाउँपालिकाका बासिन्दाका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रु २१ करोड ३५ हजार बराबरको १०० अङ्कित दरका २१ लाख ३५० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले यही मङ्सिर १५ देखि २९ गतेसम्म शेयर आवेदन गर्न सक्नेछन् । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

आयोजना प्रभावित बाहेक ७५ लाख ६१ हजार २६० कित्ता साधारण शेयरको पाँच प्रतिशत अर्थात् तीन लाख ७८ हजार ६३ कित्ता सामूहिक लगानी कोष र एक लाख ५१ हजार २२५ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ ।

त्यस्तै बाँकी सात करोड ३१ लाख ९७२ कित्ता साधारण शेयर सर्वसाधारणहरूको लागि छुट्टयाइएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको धितोपत्र निष्कासन बन्द भएपछि बिक्री नभएको शेयर समावेश गरी सर्वधारणका लागि शेयर बिक्री खुल्ला गर्ने जनाएको छ । कम्पनीले गत मङ्सिर २७ गते नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त गरेको थियो ।

कम्पनीले निष्कासन गर्ने शेयरलाई ईक्रा नेपाल लिमिटेडले आइपिओ ग्रेड चार प्रमाणपत्र प्रदान गरेको छ । उक्त कम्पनीले दोलखामा रु २०४.६ करोडको लागतमा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनामा निर्माण गरिरहेको छ ।

Loading...