प्राकृतिक सम्पदाको संरक्षणबारे वातावरणविदको साझा दृष्टिकोणमा जोड

काठमाडौंँ, ४ पुस । प्राकृतिक सम्पदाहरूको दिगो संरक्षणका लागि सामूहिक सहकार्य हुनुपर्नेमा वातावरणविद्को साझा दृष्टिकोण व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को नेपाल राष्ट्रिय समितिले संरक्षणको क्षेत्रमा गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल गर्न आज यहाँ आयोजित कार्यशालाका सहभागीहरूले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि सझौताहरूमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको र देशभित्रै पनि विभिन्न नीति, ऐन नियमहरू तर्जुमा गरेको सन्दर्भमा त्यसको कार्यान्वयनका लागि सबैको प्रतिवद्धता हुनुपर्ने धारणा राखेका थिए ।

आइयूसिएन–नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा ऋषि शाहले सदस्य संस्थाहरूले आ–आफ्नो तवरमा संरक्षणका विभिन्न कार्यहरू गरिरहेको भएतापनि सबैको सहकार्य र सामूहिक प्रयासबाट संरक्षणको क्षेत्रमा ठोस नतिजा हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।

आइयुसिएन नेपालका राष्ट्रिय प्रतिनिधि डा प्रल्हाद थापाले कार्यशालाले तयार गरेको योजनाहरूले आइयुसिएनलाई नेपालमा आगामी दिनमा कार्य गर्न रणनीतिक मार्गदर्शन प्रदान गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाल, आइयुसिएनको पारिस्थितिकीय प्रणाली व्यवस्थापन आयोगका अध्यक्ष डा माधव कार्की, आइयुसिएनका एसिया क्षेत्रीय काउन्सिलर मङ्गलमान शाक्य, समितिका सचिव किरण तिमिल्सिनालगायत विभिन्न विज्ञहरूले संरक्षणको क्षेत्रमा गर्नुपर्ने भावी कार्ययोजनाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा आइयुसिएनमा आबद्ध नेपालका २४ संस्थागत र करीब ४० व्यक्तिगत सदस्यको उपस्थिति रहेको थियो ।

हाल नेपालमा करीब १३० जना विज्ञ विभिन्न ६ आयोगअन्तर्गत व्यक्तिगत सदस्यको रूपमा रहेका छन् । आइयुसिएनले विश्वका १६० राष्ट्रका २५० भन्दा बढी सरकारी निकाय र ११ सयभन्दा बढी गैरसरकारी संस्थाहरू क्रियाशील छन् ।

Loading...