विवाद बढेपछि कांग्रेस महासमिति बैठक लम्बियो

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसकाे महासमिति बैठकमा विवादले चर्काे रुप लिएकाे छ । विवाद बढेर समाधानतिर जान नसकेपछि राजधानीमा जारी महासमितिकाे बैठक अझै लम्बिने भएकाे छ ।

पार्टीको विधान मस्यौदामा शिर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो। पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।

कांग्रेसको महासमिति बैठकको स्थान पनि परिवर्तन हुने भएको छ। बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महासमिति बैठक सार्ने तयारी पनि गरिएको प्रवक्ता शर्माले बताए।

विधान मस्यौदामा सहमति जुटाउन मंगलबार दिउँसो बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले पनि ठोस निर्णय लिन सकेन। तर नेताहरुबीच पदाधिकारी संख्या बढाउने विषयमा भने सहमति जुटेको पनि प्रवक्ता शर्माले बताए।

विधानमा सहमति जुटाउन ढिलाई हुँदा मंगलबार बिहान कांग्रेस महासमिति बैठकमा होहल्ला समेत भएको थियो। अहिले महासमिति बैठक जारी छ। बैठकमा नेताहरुबीच राजनीतिक, आर्थिक, सांगठनिक तथा पार्टीको आन्तरिक आर्थिक नीतिका बारेमा छलफल भईरहेको पनि प्रवक्ता शर्माले बताए।

विधानमा पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष रहेपछि कांग्रेस महासमिति बैठक लम्बिने भएको हो। बैठक हार्दिकपूर्वक चलिरहेको र त्यसले पार्टीलाई नविन ऊर्जा प्रदान गर्ने प्रवक्ता शर्माको दावी छ।

Loading...