बाबुरामको नयाँ शक्ति र प्रचण्डको माओवादी केन्द्रबीच एकता प्रयास सुरु

काठमाडौ, ९ साउन । संघीय समाजवादी फोरमसँग पार्टी एकता नभएपछि नयाँ शक्तिका केही नेताहरुले माओवादी केन्द्रसँग छलफल सुरु गरेका छन् ।नयाँ शक्तिका संगठनका विभाग प्रमुख देवेन्द्र पौडेलको अगुवाईमा माओवादी केन्द्रसँग छलफल सुरु भएको हो ।

अन्तिम चरणमा  आएर उपेन्द्र यादवले धोका दिएको भन्दै नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग छलफल सुरु गरेको स्रोत बतायो ।
नेता पौडेलले यसअघि उपेन्द्र यादवसँग एकता गर्नुभन्दा माओवादीमै फर्किनुपर्ने बताउँदै आएका थिए । संयोजक बाबुराम भट्टाईले यादवसँग एकता गर्न चाहेका कारण पौडेल समूह कमजोर परेको थियो ।

आइतबारको अन्तिम वार्तामा यादवले आफ्नो नेतृत्व स्वीकार गर्न तयार भएमात्र पार्टी एकता गर्ने भनेपछि भट्टराई खाली हात फर्केका थिए ।
स्रोतका अनुसार आइतबार राति नै नेता पौडेलले माओवादी केन्द्रको दोस्रो पुस्ताको नेताहरुसँग छलफल सुरु गरेका थिए । सोमबार पनि छलफल भएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउँदै आएको नयाँ शक्तिले झैं माओवादी केन्द्रले पनि बैठकबाटै सो मुद्दालाई अगाडि सारेको र जम्बो केन्द्रीय समिति विघटन गरेका कारण छलफलको लागि वातावरण बनेको बताइएको छ ।
बाबुराम अझै पनि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा छैनन् तर माओवादी पृष्ठभूमि भएका अधिकांश नेताहरुले एकताको लागि दवाव दिइरहेका छन् ।

बाबुरामले नमानेपनि नेता पौडेलको समूहलाई भएपनि पार्टीमा भित्र्याउने तयारीमा माओवादी केन्द्रका नेताहरु लागिपरेका छन् । यदि पौडेल फर्केन अवस्थामा बाबुराम अाउँन बाध्य हुने माओवादी केन्द्रका नेताहरुको बुझाइ छ ।

Loading...