कांग्रेस महासमिति बैठकभित्र कसले के भने

काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिएका छन् ।

सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उनीहरूले सुझाव दिएका छन् । कार्यकर्ताको भावना अनुरूप गुट उपगुट अन्त गरी समग्र एकता कायम गर्नुपर्ने उनीहरूको जोड छ ।

काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हिमाल–तराई, पहाड, मुुसलमान, महिला, आदिवासी जनजातिलगायत महासमिति सदस्यले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर विधान बन्नुपर्ने माग राखेको राससलाई जानकारी दिए । “सत्य, निष्ठा र इमान्दारिताको पक्षमा स्वाभिमानीपूर्वक उभिनसक्ने सवल र सक्षम नेपाली तयार हुने अनुकूलको नयाँ विधान र सङ्गठन संरचना बनाउँदै लानुपर्छ,” उनले भने ।

लामो समयदेखि हुन नसकेको काङ्ग्रेस महासमितिको बैठक मङ्सिर २८ गतेदेखि राजधानीमा जारी छ । बैठकमा महासमिति सदस्यले सङगठन, मुलुकको राजनीतिक अवस्था र बैठकमा राखिएका राजनीतिक, आर्थिकलगायतका प्रस्तावमा आआफनो धारणा राख्नेक्रम जारी छ ।

छलफलमा अधिकांश सदस्यले पार्टीको विधानमा एक व्यक्ति एक पद, समावेशीता, आर्थिक पारदर्शिता, क्षमता र नीतिलाई कार्यान्वयनमा लैजान जोड दिनुभएको महासमिति सदस्य ईश्वरी ओझाले जानकारी दिए ।

मौजुदा विधानलाई विस्थापित गर्दै नयाँ विधानलाई वैज्ञानिक र समावेशी बनाउन जोड दिइएको बताइएको छ । सप्तरी–३ का डा अनिलकुमार झाले पार्टीको राजनीतिक र सैद्धान्तिक आधार बलियो बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा उपस्थित महासमिति सदस्यमा उत्साह त देखिन्छ, साथसाथै देश, जनता र पार्टीप्रतिको चिन्ता प्रकट भएको पाइन्छ । पार्टीलाई गुट–उपगुटबाट माथि उठाउनुपर्ने उनीहरूको सुझाव छ ।

बैठक पुस ३ गतेसम्म चल्नेछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।

रौतहट–४ बाट उपस्थित हुनुभएकी महासमिति सदस्य शुभद्रा गुप्ताले बिपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्सेर पार्टीमा पैसावाला, ठेकेदार र पूँजीपति वर्गलाई पार्टीले स्थान दिएकामा चिन्ता व्यक्त गरे ।

काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्नुभएका महासमिति सदस्य गणेश लामाले शीर्ष नेतृत्वले स–साना गुट–उपगुटलाई एकीकृत गरी भावनात्मक रूपमा एकपद एक व्यक्तिको अवधारणालाई अवलम्बन गर्दै पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए ।

छलफलमा काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन, सहमहामन्त्री डा प्रकाशशरण महतको आर्थिक प्रतिवेदन, डा शशाङ्क कोइरालाको साङ्गठनिक प्रतिवेदन र सीतादेवी यादवले पेश गर्नुभएको आर्थिक प्रतिवेदनमा छलफल जारी छ ।

“नीति राम्रो लेखिँदैमा पार्टीको शुद्धीकरण हुँदैन, पार्टी सुदृढीकरणका लागि राम्रो नीति कार्यान्वयन महत्वपूर्ण कुरा हो, कार्यकर्ताको भावना बुझेर शीर्ष नेतृत्वमा एकता हुनुपर्छ,” सुनसरी–६ का महासमिति सदस्य मोहमद नइमुद्धिन खाँले बताए ।

सप्तरीबाट आउनुभएकी पवनी खङ्गले विभिन्न जातजाति भाषाभाषीलाई पार्टीको विधानमा उच्चस्थान दिनुपर्ने बताए । “संविधान संशोधन गरेर सबैको पहिचानको प्रतिनिधित्व गराउन पार्टी एक ढिक्का भई अघि बढ्नुपर्छ,” उनले भने ।

भक्तपुरका महासमिति सदस्य विष्णुराज कार्कीले शिक्षा र स्वास्थ्य राज्य नियन्त्रित गर्दै अन्य क्षेत्रलाई आर्थिक उदारीकरणमार्फत आर्थिक समृद्धिका कार्यक्रम अगाडि बढाउने नीति ल्याउनुपर्छ भने ।

सल्यान–१ का ध्रुवराज पुरीले विधान मुख्य समस्या नभई नेतृत्वको नियतमा कमजोरी भएकाले काङ्ग्रेसमा समस्या देखिएको बताए । उदयपुरका ६५ वर्षीय हरिबहादुर खड्काले पार्टीमा त्याग गर्ने कार्यकर्तालाई जवाफदेही र जिम्मेवारी बनाउँदै पार्टीलाई अगाडि बढाउनु आजको आवश्यकता हो भने ।

रोल्पा–१ का महासमिति सदस्य मनोजमणि आचार्यले राज्यको आफ्नो धर्म नभए पनि धार्मिक स्वतन्त्रताको पक्षमा पार्टी अडिग हुनुपर्ने बताए । “जबर्जस्ती धर्म परिवर्तन गराउनु आपत्तिजनक हो,” उनले भने ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्काे महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ ।

त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि विसं २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हँुदैन ।

Loading...