निबन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौँ, १ पुस । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा दीना कंसकार प्रथम, ललिता धाख्वाः द्वितीय र सुषमा बज्राचार्य तृतीय भएका थिए भने नितेश शाहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितमा २८ निबन्धकारबीच प्रतिस्पर्धा भएको थियो ।

पुरस्कारको राशि क्रमशः रु ८ हजार, रु ६ हजार, रु ४ हजार र रु २ हजार रहेको छ । निर्णायक मण्डलमा प्रा मदनरत्न मानन्धर, डा केशवमान शाक्य र लोचनतारा तुलाधर थिए ।
लुम्बिनी नेपलिज् बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौँले हरेक वर्ष बुद्ध शिक्षामा आधारित एक विषयमा संयुक्त रुपमा निबन्ध प्रतियोगिताको आयोजना गर्दैआएको छ ।
सो अवसरमा भिक्षु कोण्डन्यले बुद्ध शिक्षा जनजनमा फैलाउन सके विश्वमा शान्ति र अमनचैन कायम हुने विश्वास व्यक्त गर्दै बुद्ध शिक्षा प्रचारप्रचारका लागि निबन्ध प्रतियोगिता एक उपयुक्त माध्यम भएको बताए ।

समूहका सल्लाहकार तथा पूर्वमन्त्री डा केशव मान शाक्यले सहभागी निबन्धकारहरुको निबन्धको समीक्षा गर्दै धेरै लेखकहरुको लेखन शैली, विषय प्रवेश, प्रस्तुति र आलोचनात्मक विवेचना उत्कृष्ट रहेको टिप्पणी गरे ।

समूहका अध्यक्ष तेज नारायण मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतियोगी लेखकहरुलाई मैत्री चिन्ह प्रदान गरिएको थियो ।

Loading...