सरकारले गर्यो नेपालमा भारतीय नोट नचलाउने निर्णय

काठमाडौँ । सरकारले नेपालमा भारतीय नाेट प्रचलनमा नल्याउने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे । 

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले हालै प्रचलनमा ल्याएकाे २ सय ५ सय र दुर्इ हजार दरका भारतीय नाेट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरिएकाे जानकारी दिए । 

यस्तै सरकारले २ सय रुपैयाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा नचलाउने सरकारले निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् ।

बैठकले मानवअधिकार पुरस्कार कोष सञ्चालन नियमावली २०७५ र खानेपानीसम्बन्धी सङ्घीय आयोजनाका काम समयमै सम्पन्न गर्न १६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्नाका साथै विसं २०६६ कात्तिक २४ गते अज्ञात समूहद्वारा अपहरण गरी हत्या गरिएका सिरहा निवासी प्रमोद साहकी श्रीमती गीतादेवीलाई रु दुई लाख उपलब्ध गराउने र प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा बनेको अध्यादेश परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

नेपाल र कम्बोडिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने, काठमाडौँ तराई/मधेश द्रुतमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने क्रममा विभिन्न कारणले क्षतिपूर्ति दिन छुट भएका ९६ र नेपाली सेनाको कार्यदल बेसक्याम्पभित्र परेका पाँच गरी १०१ जनाको ऐलानी जग्गा र त्यसमा निर्मित संरचनावापत क्षतिपूर्ति दिने निर्णय बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

बैठकले मोही लागेका जग्गावाला र मोहीले बाँडफाँट गरी लिनेदिने निवेदन दिने म्याद नेपाल राजपत्रमा सूचना प्रकाशन भएका मितिले लागू हुने गरी एक महिनासम्म तोकेको छ ।

सासेक ट्रेड फ्यासिलिटेशन प्रोग्रामअन्तर्गत एशियाली विकास बैंकको सहयोगमा भारत सरकारमार्फत निर्माण हुने मेची पुल (काकरभिट्टा, पूर्वी मेची नगरपालिका-१०) का लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न पहुँच मार्गसहित नयाँ पुलको केन्द्रविन्दुबाट दायाँबायाँ २५/२५ मिटरसम्मको जग्गा अधिग्रहण स्वीकृति प्रदान भइसकेको हुँदा उक्त पहुँच मार्गमा पर्ने घरटहरामध्ये जग्गाधनी प्रमाणपत्र पूर्जा नभएकाका हकमा जग्गा तथा घरटहराको मुआब्जा दिन र बालाजु–त्रिशूली–छहरे सडक योजना स्तरोन्नतिका लागि करीब दुई हजार ६०० रुख हटाउन स्वीकृति दिएको छ ।

गोरखापत्र संस्थानमा टीकाराम राई (मोरङ) लाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङसम्बन्धी मामला हेर्ने गरी विज्ञ सल्लाहकार र अधिवक्ता कुमारप्रसाद भट्टराई (काभ्रेपलाञ्चोक)लाई कानूनी सल्लाहकारमा नियुक्त गरिएको छ । सांसद सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई बाँकी काम गर्न १५ दिनको अवधि थप गर्ने निर्णय बैठकले गरेको बास्कोटाले जानकारी दिए ।

Loading...