च्याम्पियन्स लिगमा रियल म्याड्रिडको लज्जाजनक हार, बार्यन समूह विजेता

काठमाडौ, २७ मंसिर । च्याम्पियन्स लिगमा चर्चित फुटबल क्लब बार्यन म्युनिख समूह ‘ई’ बाट विजेता बनेका बेला अर्काे क्लब रियल म्याड्रिडले भने लज्जाजनक हार व्यहाेरेकाे छ ।

बुधबार राति भएको खेलमा बायर्नले अजाक्ससँग ३–३ गोलको बराबरी खेल्दै समूह विजेता बनेको हो । निकै तनाबग्रस्त खेलमा दुई क्लबका खेलाडीले फरक फरक समयमा रातो कार्ड खादै मैदान छाडेका थिए ।

खेलको ६७औं मिनेटमा म्याक्सिमिलियन ओबेरले रातो कार्ड खादै मैदान छाडेपछि अजाक्स १० जना खेलाडीमा सीमित भएका थिए । तर खेलको ७५औं मिनेटमा थोमस मुलरले पनि रातो कार्ड खाएपछि बायर्न पनि १० खेलाडीमा झरेको थियो ।

६ खेलबाट १४ अंक बनाएको बायर्न समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यस्तै, अजाक्सले ६ खेलबाट १२ अंक बनाउँदै प्रिक्वाटरफाइनलमा उपविजेता बनेर पुगेको हो ।

उता एक खेल अघि नै च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेको स्पेनिस क्लब रियल मड्रिडले समूह चरणको अन्तिम खेलमा भने लज्जास्पद हार ब्यहोरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले अकल्पनीय प्रदर्शन गर्दै रसियन क्लब मोस्कोवसँग ३–० गोलअन्तरले पराजित भएको हो । मोस्कोवलाई जित दिलाउन फेडर चालोभ, जिओर्गी स्चेनिकोभ र एर्नोर सिगुर्डसनले गोल गरे ।

पहिलो हाफमा नै दुई गोलको अग्रता लिएको मोस्कोवले दोस्रो हाफमा थप एक गोल गर्दै रियललाई ३–० गोलको जित निकालेको हो । खेलको ३७औं मिनेटमा चालोभले गोल गर्दै मोस्कोवलाई अग्रता दिलाएका थ्एि । खेलको ४३औं मिनेटमा स्चेनिकोभले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७३औं मिनेटमा सिगुर्डसनले गोल गर्दै ३–० गोलको जित दिलाए ।

तर रियल मड्रिड पराजित भएपनि समूह जी को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ । रियल मड्रिडले ६ खेलबाट १२ अंक बनाएको हो । जित हात पारेपनि मोस्कोव भने समूह चरणबाटै बाहिरिएको छ ।

Loading...