निजामती कर्मचारीहरूको सरुवा रोकियो

काठमाडौं, २६ मंसिर । सरकारले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने तयारी गरेको छ ।

सबै सेवा सञ्चालन गर्ने मन्त्रालय, निकायलाई पत्राचार गरी अध्यादेश कार्यान्वयनका लागि कर्मचारीको विवरण अद्यावधिक गर्नु पर्ने हुँदा सरुवा रोक्न पत्राचार गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिएका छन् ।

समायोजन अवधिमा सरुवा जारी रहँदा काममा अवरोध पुग्ने भएकाले त्यसो गरिएको उनले बताए । संघीय मामिला मन्त्रालयलाई समायोजनसम्म कर्मचारी सरुवा स्थगित गर्न चिठी लेखेको छ।

तोकिएको अवधिभित्र कर्मचारीको विवरण किताबखानामा अद्यावधिक गर्न गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । उसले समायोजन प्रक्रियामा सहभागी भई संघीयता कार्यान्वयनमा सहयोग गर्न सबै कर्मचारीलाई अपील समेत गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीले आफ्नो कार्यालयमा मंसिर २८ भित्र अनिवार्य हाजिर भई सम्बन्धित सेवा सञ्चालन गर्ने निकाय मन्त्रालयमा पठाउन कार्यालय प्रमुखलाई निर्देशन समेत दिइएको छ ।

सबै गरेर एक लाख ८ हजार कर्मचारी समायोजन हुँदै छन् । त्यसमा निजामती सेवाका करिब ८९ हजार, स्थानीय तहका १७ हजार र अन्य सेवाका २ हजार छन् । मन्त्रालयले समायोजनका लागि अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको छ ।

समायोजन फारम भर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, ७ वटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ७ सय ५३ वटै स्थानीय तहमा हेल्प डेस्क राखिनेछ ।

Loading...