काठमाडाैंमा सार्कस्तरीय सांस्कृतिक महोत्सव सुरु

काठमाडौँ, २५ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुलुकबीच आपसमा संस्कृति आदान–प्रदान गरी जनस्तरको सम्बन्ध मजबुत बनाउन काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव एवं परम्परागत नृत्य आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सांस्कृतिक केन्द्र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गरेको सो महोत्सवमा सार्क अन्तर्गतका पाँच मुलुक नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सका ४५ कलाकारको सहभागिता छ ।

सम्बन्धित मुलुकका कलाकारले परम्परागत संस्कृति झल्कने नृत्य तथा गीत सङ्गीत प्रस्तुत गर्नेछन् । महोत्सवको उद्घाटन गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले दक्षिण एशियाको परम्परागत एवं मौलिक संस्कृति उजागर गर्न महोत्सवले क्षेत्रीय सौहार्दता, शान्ति र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे ।

उनले सार्क मुलुकबीचको संस्कृति आदानप्रदानले जनस्तरको सम्बन्ध थप बलियो बनाउँदै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले दक्षिण एशिया लोक, कला र संस्कृतिको उद्गम स्थल भएको र संस्कृतिको माध्यमबाट क्षेत्रीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन उपयोगी हुने बताए । सार्क सांस्कृतिक केन्द्रका निर्देशक डिकेआर नाइकेले सार्कको महत्वपूर्ण इभेन्ट मध्येको सांस्कृतिक महोत्सवले सम्बन्धित मुलुकको कला र संस्कृतिको प्रवद्र्धन तथा क्षेत्रीय सम्बन्ध अभिवृद्धि गर्न महोत्सव सान्दर्भिक हुने उल्लेख गरे ।

महोत्सवको उद्घाटन शत्रमा सहभागी पाँच मुलुकका विभिन्न पहिचान झल्कने नृत्य तथा गीत सङ्गीत प्रस्तुत गरिएको थियो । यही मङ्सिर २८ गतेसम्म चल्ने महोत्सवमा परम्परागत लोक नृत्यबारे विज्ञ सम्मिलित कार्यशाला, विश्वसम्पदा क्षेत्रको अवलोकन र सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

Loading...