५ सय ७७ करोड राजश्व छलि गर्ने एडिडाससहित ४२ फर्म विरुद्ध मुद्दा

मुद्दा दायर गरिएका ७७ जनामध्ये राजश्व प्रशासनका ८ जना कर्मचारी

काठमाडौं, २४ मंसिर । चर्चित क्लाेथिङ ब्रान्ड एडिडाससहित ४२ फर्मले ठूलाे मात्रामा राजश्व चुहावट गरेकाे खुलेकाे छ । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एडिडाससहितका ४२ फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ। राजश्व चुहावटसम्बन्धी गरेको अनुसन्धानमा ४२ वटा फर्महरु दोषी देखिएपछि उनीहरुविरुद्ध विभागले मुद्दा दर्ता गरेको हो। यस वर्षकाे साउन महिना यता मात्र उनीहरुले ५ अर्ब ७७ करोड १७ लाख रुपैयाँ चुहावट गरेकाे बिगो दावी गर्दै विभागले विभिन्न अदालतमा मुद्दा दायर गरेको हो।

राजस्व अनुसन्धान विभागले ४२ वटा फर्म र विभिन्न संघसंस्थाका ७७ व्यक्तिविरूद्ध समेत राजस्व चुहावटको अभियोग लगाएको छ । बिगो र सजाय गरी ५ अर्ब ७७ करोड माग दावी गरिएको त्यस मुद्दामा ८ जना राजस्व प्रशासनका कर्मचारी समेत रहेका छन् ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले गत साउनदेखि अनुसन्धान गरी ४ महिनाको रिपाेर्टमा याे थाहा भएकाे बताए । उनले एडिडासले सामान पैठारी गर्दा ७५ करोर रुपैयाँ बराबरको राजश्व छली गरेको बताएका छन् ।

महानिर्देशक मैनालीका अनुसार एडिडास कम्पनीको सामान पैठारी गर्ने मितेरी इन्टरनेशनल स्थायी लेखा नं ६०३०२५९६३ ले ७५ करोड ९६ लाख रुपैयाँ राजश्व छली गरेको छ। एडिडासको सामानमा राजश्व छली गर्नमा संलग्न रहेका रञ्जन त्रिपाठीलाई ७ करोड रुपैयाँको विगो दावीसहित १५ करोडको जरिवाना ३ वर्षको कैद माग गरिएको छ। त्यस्तै सुमन श्रेष्ठलाई १५ करोड जरिवानासहित ३ वर्षको कैद, धिरज कुमार थापा र पवित्रकुमार खड्कालाई पनि सोही अनुसारको जरिवाना र कैद सजाय विभागले माग गरेको हो।

त्यस्तै धनबहादुर तामाङ र डम्बरबहादुर श्रेष्ठलाई ७ करोड जरिवानासहित साढे १ वर्ष कैद सजाय माग भएको छ भने सुभान इन्टरनेसनलाई १८ लाख बिगोसहित त्यसमा संलग्न भरतबहादुर अर्याल, सुशील पाण्डे, सावित्री श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठलाई ३ वर्षको कैद सजाय माग भएको हो।

त्यस्तै छिरिङ ङटुप लामा र लोप्साङ तेन्गेले १० किलो सुन अबैध रुपमा आयत गरेकोमा ५४ करोड रुपैयाँको बिगो र तीन वर्ष कैद सजाय माग भएको छ। त्यस्तै अरुणकुमार दास र रोशन कुमार दासले विदेशी मुद्रको अवैध कारोबार गरी राजश्व छली गरेको आरोपमा २ अर्ब रुपैयाँको बिगो र ३ वर्षको कैद माग भएको छ।

त्यस्तै बहादुर तामाङले पनि ५ किलो सुन आयात गरी १२ करोड रुपैयाँ राजश्व छली गरेको भन्दै उनी विरुद्ध पनि बिगोसहित ३ वर्षको कैद माग भएको हो।

Loading...