काठमाडौँमा माउन्टेन फिल्म फेस्टिबल किम्फको सोह्रौँ संस्करण सुरु

काठमाडौँ, २१ मङ्सिर । ‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ ।

राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला वादक दावा योङजुङ शेर्मालागतयले सामूहिक रुपमा उद्घाटन गरे ।

अष्टे«लियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’ को विशेष प्रदर्शनी गरी महोत्सवको उद्घाटन गरिएको थियो । ‘माउन्टेन’ मा पर्वतको सौन्दर्य, रहस्य र अद्भूत शक्तिलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । फेस्टिबलमा नेपाललगायत ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाइने छ ।

यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्म देखाइने छ । काठमाडौँ महानगरपालिका सहआयोजक रहेको किम्फ २०१८ को नारा ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको छ । महोत्सवका अध्यक्ष वसन्त थापाले महोत्सवको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउन रहेको बताए ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कृष्ट तीन फिल्म र नेपाल पानोरमाअन्तर्गत परेका २० वटा फिल्मबाट उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रको छनोट गरिने छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर एक हजार ५००, एक हजार र ५०० बराबरको नगद पुरस्कार प्रदान गरिने छ ।

नेपाल पानोरामाअन्तर्गत आख्यान र गैरआख्यान विधामा क्रमशः एक लाख र ७५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा प्रदर्शित उत्कृष्ट पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलरका पुरस्कार दिइने छ । किम्फको उत्कृष्ट साहसिक फिल्मलाई आपा शेर्पा फाउण्डेशनले एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्नेछ र सबैभन्दा बढी दर्शकको रोजाइमा पर्ने फिल्मलाई ‘अडियन्स अवार्ड’ को पुरस्कारका साथ रु ५० हजार प्रदान गरिने छ ।

Loading...