निर्मलाको हत्यामा काठमाडौमा पक्राउ परेका रावल को हुन् ?

काठमाडाैं, २० मंसिर । देशभर निर्मला पन्तकाे हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रदर्शन चलिरहेका बेला बुधबार प्रहरीले काठमाडाैंबाट एक युवकलार्इ पक्राउ गरेकाे खबरले सनसनी फैलायाे । समातिएका युवक काे थिए भन्ने प्रहरीले अहिले पनि केही खुलाएकाे छैन । 

विभिन्न स्राेतबाट खाेज्दा ती युवक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २२ वर्षीय प्रदिप रावल रहेकाे थाहा हुन अाएकाे छ । प्रहरीले उनलार्इ सुरुदेखि नै खाेजेकाे तर उनी भारत गएका कारण समातिएका थिएनन । रावल निर्मला पन्तकाे हत्या भएकै भाेलिपल्ट भारत गएकाे प्रहरीले पारिवारिक स्राेतबाट जानकारी पाएकाे थियाे । तर, तिनै व्यक्ति एकाएक काठमाडाैंमा रहेकाे सूचना पाएपछि प्रहरीले बुधवार समातेकाे हाे । रावल चार वर्षअघि लागु अाैषध दुर्व्यसनमा लागेर कक्षा ९ काे पढाइ छाडेकाे बुझिएकाे छ । रावल एकपटक निर्मलाको हत्या भएको स्थानभन्दा ६ सय मिटर पश्चिमतर्फ रहेकाे एक मासुपसलबाट पैसा, ग्यास र कुखुरा चोरेको आरोपमा पक्राउ परेका थिए । रावलसँगै त्यतिबेला विशाल चौधरी नाम गरेका व्यक्ति पनि पक्राउ परेका थिए ।

प्रहरीले रावललार्इ अहिले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर बयान लिइरहेकाे छ । यसअघि भएकाे गल्ती नदाेहाेर्याउन प्रहरीले उनकाे पहिचान पनि नखुलाउनुकाे साथै उनीमाथि केही अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरेर राखेकाे बुझिएकाे छ । यसअघि प्राविधिक भेरिफिकेसन विना नै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेका कारण अालाेचना खेपेकाे थियाे । त्याे समस्याबाट सचेत हुँदै प्रहरीले उनका बारेमा धेरै कुरा सार्वजनिक नगरेकाे बुझिएकाे छ ।

सीआईबी स्रोतका अनुसार बिहीबार साँझ ब्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले रावलबारे बिफ्रिङ गरेपछि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आफैं पनि ब्यूरो पुगेका थिए । खनालले रावलसँग खनाल आफैंले पनि बयान लिएका थिए । 

प्रहरीले रावलकाे डिएनए परिक्षणका लागि प्रयाेगशालामा पठाएकाे छ । त्यसकाे नतिजा अाएपछि केही कुरा सार्वजनिक गर्ने बताइएकाे छ । हाल घटनाको अनुसन्धानका लागि कञ्चनपुरमा विभिन्न टोली सक्रिय छ । सीआईबीका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदी पनि घटनाको अनुसन्धानका क्रममा कञ्चनपुरमै छन् ।

रावलले नै दिएकाे बयानका अाधारमा बिहीबार कन्चनपुर प्रहरीले २ जना युवालार्इ बयानमा तानेकाे छ । प्रहरीले ती दुर्इ युवकलार्इ उनका अभिभावकसँग नै कन्चनपुरबाट काठमाडाै पठाएकाे जानकारी दिएकाे छ । तर, ती दुर्इजना युवक काे हुन भन्ने प्रहरीले केही पनि खुलाएकाे भने छैन । महानगरीय प्रहरी परिसरले केही बुझ्नका लागि बोलाएकोले अभिभावकको साथ उनीहरुलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी मात्र दिएकाे छ ।

कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले ‘माथीबाट केही बुझ्नका लागि उनीहरुलाई बोलाइकाले परिवारलार्इ जानकारी गराएर अभिभावककै साथमा काठमाडौं पठाएकाे जानकारी दिए । प्रदिप रावललार्इ बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट समातेकाे थियाे ।

गत असोज १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२, की १३ वर्षिय बालिका निर्मला पन्तको अर्को दिन उखुवारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना भएको चार महिना पुरा भैसक्दा पनि हत्यारा पहिचान हुन सकेको छैन। निर्मलाको पक्षमा न्यायको माग गर्दै सुरुवातदेखि नै देशैभर प्रदर्शन भइरहेको छ।

यता, घटना घटेको चार महिना भन्दा बढि समय भैसक्दा पनि सरकार घटनाप्रति उदासिनता रहेको बिरोधमा बिहीवार नागरिक संघर्ष समितिले वृहत् प्रदर्शन गरेको छ। महेन्द्रनगरका बिभिन्न चोक–चोकबाट सुरु गरिएको मानव साङ्लोसहितको प्रदर्शन पछि गएर जुलुशमा परिणत भएको थियो। प्रदर्शनपछि सहभागीहरुले बजारमा नाराबाजी समेत गरेका थिए। प्रदर्शनमा विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक, विद्यार्थी, अधिकारकर्मी लगायत सर्वसाधारणको उपस्थिति थियो।

यस्तै, धनगढीमा निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडी प्रदर्शन तथा निर्मलाको तस्वीर अंकित पोस्टर टाँसिएका छन्। नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीको अगुवाइमा सडक किनारमा रहेका बिजुलीका पोल, सवारी साधनमा पोस्टर टाँसिएको छ। पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ।

Loading...