व्यापारयुद्ध सुरु भएपछि सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच अर्जेन्टिनामा भेट

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङ्गबिच अर्जेन्टिनामा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा झण्डै साढे दुई घण्टा भेटवार्ता भएको छ ।

‘व्यापार युद्ध’ को अवस्थामा रहेका अमेरिका र चीनका नेताबिच महत्वपूर्ण भेटवार्ता भएको हो । यो वर्ष लागेसँगै सुरु भएको अमेरिका–चीनको ‘व्यापार युद्ध’ पछिको यो पहिलो भेट हो, ट्रम्प र सी बिच भएको छ ।

अर्जेन्टिनाको राजधानीमा डिनरपछि भएको भेट निकै राम्रो रहेको ट्रम्पका सल्लाहकार ल्यारी कुड्लोले बताएका छन् । अमेरिकाले चिनियाँ सामानमा कर बढाएपछि त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमा कर बढाउँदै आएको छ ।

तर ट्रम्प र सी बिचको भेटले करको यो युद्ध कम गर्न सहयोग गर्ने अपेक्षा रहेको बताइएको छ । दुई देशबिचको व्यापारिक टकरावका कारण विश्वव्यापी आर्थिक गतिविधिमा नै असर परिरहेका बेला दुई नेताको भेटलाई नयाँ सम्भावनाको आशको रुपमा हेरिएको छ ।

अमेरिका र चीन दुवै पक्षले भेटका बारेमा अहिले नै औपचारिक रुपमा केही बताएका छैनन्, तर ह्वाइट हाउसका चिफ इकोनोमिस्ट कुड्लोले वार्ता राम्रो रहेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

Loading...