घरको आँगनमै आएर चितुवाले लियो बालकको ज्यान

तनहुँ, १६ मंसिर । तनहुँमा चितुवाको आक्रमणबाट एक बालककाे मृत्यु भएकाे छ । शनिवार राती तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षका अमृत गुरुङकाे चितुवाकाे अाक्रमणबाट मृत्यु भएकाे हाे ।

चितुवाको आक्रमणबाट घाइते भएका बालक अमृतलार्इ तनहुँकै डुम्रेस्थित लक्ष्मी अस्पतालमा पुर्याइएकाे थियाे । साेही अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएको हाे । खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो ।

उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए । उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो । चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ ।

भानु नगरपालिकामा चितुवाको त्रास बढेको छ । चितुवाको आक्रमणबाट १७ दिनको अवधिमा दुईजनाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएको स्थानीय भगवान त्रिपाठीले बताए ।

कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । उक्त घटना भएको १७ औँ दिनको दिन शनिबार राति १० वर्षका अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै मङ्सिर १ गते नै भानु नगरपालिका–२ मा सात वर्षका सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए ।

Loading...