यात्रामा जाँदा यी अाैषधी अनिवार्य बाेक्नुहाेस

काठमाडाैं । नयाँ–नयाँ स्थानमा घुम्ने, ट्रेकिङ जाने प्रचलन पछिल्लो समय बढेको छ । यसरी समूहमा लामो यात्रामा निस्कनुअघि औषधि बोक्न भने बिर्सनु हुँदैन ।
कहिलेकाहीँ मौसम परिवर्तन तथा थकाइ, भोकका कारण शरीरलाई असर पुग्न सक्छ । त्यसैले कस्तो ठाउँ र कुन उद्देश्यले जाँदै हुनुहुन्छ, सोअनुसार औषधि साथमा बोक्न बिर्सनु हुँदैन । आफ्नो लागि आवश्यक औषधिको व्यवस्था मिलाउँदा म्याद सकिएको छ\छैन राम्ररी हेर्नुपर्छ । लामो यात्रामा निस्कँदा बोक्नुपर्ने ओषधिका बारेमा फर्मासिस्ट एलिना श्रेष्ठको सुझाब यस्तो छ :
यात्राका क्रममा बाहिर निस्कँदा कस्तो ठाउँमा खाना खानुपर्ने हुन्छ, थाहा हुँदैन । जहाँ पायो त्यहीँ खाँदा पेट दुख्ने तथा पखाला लाग्ने सम्भावना पनि हुन्छ । त्यसैले मेट्रोनिडाजोल, ओआरएस, लोपेरामाइड साथमा राख्नुपर्छ ।

लामो दूरीको यात्रामा वाकवाकी लाग्ने र बान्ता हुने सम्भावना पनि हुन्छ । त्यसैले त्यस्ता व्यक्तिले यात्रा सुरु गर्नुभन्दा करिब आधा घन्टाअगाडि अन्बामसेट्रोन, प्रोमेथाजिनजस्ता औषधिको प्रयोग उचित हुन्छ ।

यात्रामा कसैलाई खानपान तथा अन्य कारणले पनि शरीरमा एलर्जी हुने गर्छ । सेट्रिजिन औषधि साथमा रहेमा यस्तो समस्याबाट पार पाउन सकिन्छ ।

लामो दूरीको यात्रामा कहिलेकाहीँ विभिन्न कारणले सही समयमा खानपिन गर्न सकिँदैन । जसले गर्दा ग्यास्ट्राइटिसका रोगीलाई टाउको दुख्ने, बान्ता हुनेलगायतको समस्या देखापर्न सक्छ । त्यसबाट बच्न एसिलक, डाइजिन, पेन्टोप्लाजोल बोक्नु फाइदाजनक हुन्छ । यदि ग्यास्ट्रिकको समस्या धेरै भएमा ओमिप्राजोल प्रयोग गर्न सकिन्छ ।

लामो यात्राले शरीरमा पीडा हुन सक्छ । कहिलेकाहीँ टाउको दुख्ने तथा ज्वरो पनि आउन सक्छ । बु्रसेट, सिटामोल, निम्स, निमोलिडलगायत पनि प्रयोग गर्न सकिन्छ ।

ट्रेकिङ गर्दा शरीरमा घाउचोट पनि लाग्न सक्छ । त्यस्तो वेला झट्ट औषधि पसल पुग्न सम्भव हु“दैन । त्यसैले ह्यान्डीप्लास्ट, ब्यान्डेजलगायत प्राथमिक उपचारका सामग्री बोक्नु फाइदाजनक हुन्छ ।

दैनिक खाँदै आएको औषधि बोक्न पनि नभुल्नुहोला । किनकि, यी औषधि यात्रामा मात्र नभएर तपाईं त्यस ठाउँमा बसुन्जेल चाहिन्छ । दुर्गम ठाउँमा जाँदै हुनुहुन्छ भने तपाईंले प्रयोग गरिरहेको औषधि त्यहाँ नपाइन पनि सक्छ ।

यदि उचाइ बढी हुने पहाडी इलाकातिर घुम्न जाँदै हुनुहुन्छ भने अक्सिजनको कमीले समस्या पर्न सक्छ । शरीरका विभिन्न भाग दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने हुन्छ । एसिटाजोलामाइड हाई अल्टिच्युटमा जाँदा बोक्न बिर्सनु हुँदैन ।

यात्रामा धुवाँ, धुलो, रुघाखोकी, क्षयरोग, भाइरल इन्फ्लुएन्जालगायत विभिन्न खाले श्वासप्रश्वास रोगबाट बच्न मास्कको प्रयोग उचित मानिन्छ ।

Loading...