वार्डडबडी जहाज खरिदमा कुनै गल्ती र अनियमितता भएको पाइएमा तत्काल कारबाही गर्ने पर्यटन मन्त्रीको उदघोष

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् ।

उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अधिकारीले आफूहरुले नेपालको हितमा र वायु सेवा निगमको हितमा काम गर्नको लागि निर्देशन दिएको जनाए । उनले भने,‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाईयो भने हामी शोधभर्ना गराउँछौं । सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं । सत्य, तथ्य कुरा बाहिर ल्याउनुपर्छ ।’ यद्धपी उनले निगमलाई असफल पार्नको लागि प्रोपागाण्डा फैलाउने काम कसैबाट गर्न नहुनेपनि जिकिर गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वाईडबडी जहाज खरिद प्रक्रिया २०७१ सालबाटै सुरु भएको र २०७४ सालमा खरिद प्रक्रिया पूरा भएको सुनाए । उनले भने,‘यो सरकार आएको एक दई महिनापछिमात्रै वाईडबडी आएको हो । त्यसैले जहाज खरिद प्रक्रिया, निर्णय प्रक्रिया, भुक्तानी र बैना पठाउने सबै काम योभन्दा अगाडिको सरकारको पालमा सिध्धिईसकेको थियो ।’ जहाज खरिदको सबै प्रक्रियामा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार सहभागी भएको उनले स्पष्ट पारे ।

वाईडबडी आईसकेकोले अब यसलाई चलाउनुपर्ने उनको भनाई छ । तर, खरिद प्रकरणमा अनियमितता र गलत भएको पाईए कारबाही गर्ने अधिकारीले पूनः दोहोर्याए । उनले भने,‘यस विषयमा गहिरो र गम्भिर छलफल हुन्छ । गलत भेटिए हामी कारबाहीको प्रक्रिया बढाउँछौं ।’ उक्त वाईडबडी जहाज अहिले दैनिक करिब ७ घण्टामात्रै चलिरहेकोले अब यसलाई बढाएर दैनिक १३ देखि १४ घण्टासम्म पुर्याउने उनको विश्वास छ । उनले आगामी फेब्रुअरीबाट जापानको ओशाका र मार्चबाट चीन उडान भर्नेपनि जानकारी दिए । उनले मार्चपछि जहाज ‘फुल–फ्लेज्ड’मा सञ्चालन गरिने जनाए ।

उनले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउनको लागि यसको गन्तब्य बढाउन र फराकिलो पार्ने काम भैरहेको पनि जानकारी दिए । मन्त्री अधिकारीले थपे,‘एयरलाईन्सलाई कम्पनी मोडेलमा लैजाने कि रणनीतिक साझेदारी खोज्नेबारे अहिले छलफल भैरहेको छ । हामी नेपाल एयरलाईन्सलाई प्रतिष्पर्धी बनाउँछौं ।’ नेपाल वायु सेवा निगमलाई कसरी र कुन मोडेलमा सञ्चालन गर्नेबारे छलफल भैरहेको उनले जनाए ।

उनले भने,‘निगमलाई निजीकरण गर्दैनौं । बरु, हामी कम्पनी मोडेलमा चलाउँछौं । नेपाल टेलिकमजस्तो कम्पनी मोडेलमा चलाउँछौं । २ वटा जहाज खरिद गर्नको लागि सरकार आँफै जमानत बसेको छ । अब हामी निगमको व्यवस्थापन सुधार्छौं । हाम्रो पहिलो प्राथमिकता भनेको नै व्यवस्थापन सुधार्ने नै हो । निगमले आँफै कमाउँछ र तिर्छ । सधैं ऋण दिएर हुँदैन् । कमाउन र चलाउन सक्छ ।’

उनले आफूहरुले निगम सञ्चालनको लागि अन्तर्राष्ट्रिय साझेदारी खोजिरहेको पनि सुनाए । अधिकारीले थपे,‘नेपालमा मार्केट नभएकाहरुलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । त्यस्तोसँग हामी साझेदारी खोज्छौं । साझेदारी खोज्ने प्रक्रियाबारे हामी अबको दुई हप्ताभित्र निर्णय लिन्छौं ।’

Loading...