काव्य स्कूलमा प्रहरी विद्यालय समन्वय समिति गठन

काठमाडौँ, ११ मंसिर । गृह मन्त्रालयले गत कार्तिक ११ देखि शुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कूल नयाँबानेश्वरमा ११ सदस्यीय ‘विद्यालय-प्रहरी समन्वय समिति’ गठन गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा सो समिति गठन गरिएको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको संयोजकत्वमा गठित सो समितिमा नयाँबानेश्वर वृत्तका प्रहरी नायव निरीक्षक सुरेन्द्रप्रसाद बर्ताैला, अभिभावकद्धय शुशील थापा र लक्ष्मी कार्की, काठमाडौं महानगरको १० नं वडा सदस्य सतिस तण्डुकार,काव्य स्कुलका खेलकूद प्रशिक्षक प्रज्वलप्रताप क्षेत्री, विद्यार्थीहरु अनुज्ञा सापकोटा, सृष्टि लामिछाने, इशान गौतम र रोम भट्ट तथा सामुदायीक प्रहरी सेवा बानेश्वरका प्रहरी जवान उमेश कार्की रहेका छन् ।

सो समितिले लागुऔषध, साइबर क्राइम, सडक सुरक्षाका साथै अपराध नियन्त्रणबारे आफ्नो विद्यालयका साथै समुदाय लक्षित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ भने ती सबै कार्यक्रममा प्रहरीको सहभागिता अनिवार्यरुपमा हुनेछ ।

स्थानीय तहदेखि नै विभिन्न अपराध रोकथाम र नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालयले शुरु गरेको समुदाय—प्रहरी साझेदारी कार्यक्रमअनुसार विद्यालय प्रहरी समन्वय समिति गठन गरिएको वृत्त प्रमुख काफ्लेले बताए । राम्रो काम गर्ने समितिहरुलाई पुरस्कृत गर्ने सरकारको नीति रहेको पनि उनले बताए । 

नवगठित विद्यालय प्रहरी समन्वय समितिका पदाधिकारीहरुलाई प्रहरी नायव उपरिक्षक काफ्लेले टिका र खादा लगाइदिएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल बास्कोटा, सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वरका प्रहरी हवल्दार तारानन्द दाहाललगायतले समितिको आवश्यकताबारे चर्चा गरे । 

समिति गठन तथा स्वागत कार्यक्रममा विद्यालयका संस्थापक निर्देशकहरु सुनिलकुमार घर्ती, दिलिप थापाको साथै नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका निवर्तमान सदस्य देवदूत अधिकारी समेतको सहभागिता थियो ।

Loading...