वाइडबडीले नेपाल वायुसेवा निगम डेढ महिनामा ४९ करोड घाटा

काठमाडौं, २९ कार्तिक । नेपाल वायुसेवा निगमलार्इ वाइडबडी विमान सञ्चालनमा आएयता ४९ करोडको हाराहारीमा घाटा भएको छ।

दुर्इवटा वाइडबडी ३३०–२०० विमान घाटामा सञ्चालन हुँदै आएका छन्। निगमले पहिलो वाइडबडी विमान अगष्ट १ देखि र दोस्रो वाइडबडी अगष्ट २४ बाट सञ्चालनमा ल्याएकाे हाे। यी दुई विमान सञ्चालनमा आउँदा निगमकाे आम्दानी २६ करोड रुपैयाँ भएको छ भने ७५ करोड रुपैयाँ खर्च भएको छ। यो तथ्याङ्क अगष्ट १ देखि सेप्टेम्बर १५ सम्म डेढ महिनाकाे हो।

जापान, कोरिया र साउदी अरब लगायतका देशमा उडान गर्ने उद्देश्य सहित खरिद गरिएका यि विमान योजना अनुरुप सञ्चालनमा आउन नसक्दा घाटामा गएको निगमका अध्यक्ष मदन खरेल बताउँछन्।

वाइडबडी विमान सञ्चालनमा मात्र घाटा हैन निगम आफै पनि घाटामा छ। निगमसँग पूँजी लगानी तीन अर्ब १० करोड रुपैयाँ रहेको छ भने ३२ अर्ब कर्जा छ। कर्जा रकम धेरै भएकाले निगम घाटामा सञ्चालन हुँदै आएको हाे। त्यसैले निगमलाई पब्लिक मोडेलमा लाने गरी तयारी भइरहेको अध्यक्ष खरेलले बताए।

निगमले हाल अन्तर्राष्ट्रिय ८ गन्तव्यमा उडान गर्दै आएको छ। यीनै गन्तव्यमा वाइडबडीले हालसम्म उडान गर्दै आएका छन्। निगमको हाल बोइङ ७५७, दुई–दुईवटा एयरबस ३२०, एयरबस ३३० विमानबाट हङकङ, क्वाललाम्पुर, बैंकक, दोहा, दुबई, दिल्ली, बैङलोर र मुम्बईमा हप्तामा ३९ उडान हुँदै आएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानको ११ प्रतिशत हाराहारीमा मात्र बजार ओगटेको छ भने आन्तरिकतर्फ ३ प्रतिशत मात्र बजार ओगटेको अध्यक्ष खरेलले जानकारी दिए । निगममा हाल १ हजार १२ स्थायी र करार ४ सय ८३ गरी १ हजार ४ सय ९५ कर्मचारी कार्यरत छन्।

Loading...