डोल्पा बल्ल जोडियो राष्ट्रिय सडक सञ्जालमा, जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने काम सम्पन्न

डाेल्पा । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको उद्घाटन गरे। जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १ सय ३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो।

सडक सञ्जालमा जोडिए पछि डोल्पा आर्थिक सम्वृद्धितर्फ लम्कने उपप्रधानमन्त्री पोखरलेले बताए। सुन सिरानीमा राखेर नुन खोज्ने कर्णालीको समृद्धिका लागि पहिलोद्वार सड्क पाएको पोखरेलले बताए। सुँपानी-दुनैखण्डको १४ दशमलव ३ किलोमिटर कच्ची ट्र्याक तत्कालिन जिल्ला विकास समितिले यसअघि नै खुलेको हो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकट र गरिवको परिचय बोकेर बसेको कर्णाली प्रदेशलाई अब डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै सम्पन्नताको परिचय बदल्नमा सहयोगी हुने विश्वास व्यक्त गरे।

प्रधानसेनापती पूर्णचन्द्र थापाले सरकारले सेनालाई दिएका जिम्मेवारी इमान्दारी पूर्वक समयमै पुरा गरेको बताए। कार्यक्रममा रक्षामन्त्री पोखरेलले सेनाको निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीलाई सम्मान गरे।

खदाङदेखि छलगाडसम्म जीप, ट्याक्टर र मोटरसाइकल पुर्‍याइएपछि स्थानीयले बाजागाजासहित अतिथीलाई स्वागत गरेका थिए। उक्त सडकको लम्बाई १ सय १८ किलोमिटर छ। डोल्पा सदरमुकाम सम्मको झण्डै १५ किलोमिटर सड्क भने स्तरोन्नतिका सेनालाई नै जिम्मेवारी दिइने रक्षामन्त्री पोखरेलले बताए। ट्र्याक खुलेपछि खदाङ-त्रिपुराकोट खण्डमा जीप, ट्याक्टर सञ्चालनमा आएका छन्।

डोल्पाको त्रिपुराकोटको छलगाडसम्म ट्र्याक खुलाउने कार्य सम्पन्न भइ औपचारिक उद्घाटन गरिए पनि डोल्पाको सदरमुकाम दुनै सम्म सिधा मालबहाक गाडिहरु संञ्चालनमा ल्याउनका लागि जाजरकोट डोल्पा सडकखण्डमा १३ वटा पुलनिर्माण गर्नुपर्ने छ। तत्काल तीनवटा पुल निर्माणका लागि माग गरिएको त्रिपूरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले जानकारी दिए।

सरकारले २०६५ सालदेखि सडक निर्माण कार्य सुरुवात गर्ने भनेपनि रेखाङ्कन विवादका कारण दुईवर्ष निर्माणकार्य अवरुद्ध भएको थियो। २०६६ सालमा राष्ट्रिय योजना आयोगद्वारा पुन रेखाङ्कन भए पश्चात २०६७ सालदेखि जाजरकोटको पासगाडलाई जिरो प्वाइन्छ मानेर सडक निर्माण कार्यलाई तीब्रता दिइएको थियो।

Loading...