ढोका बन्द गरेको निहुमा देवरले भाउजुलाई निर्घात कुटपिट गरी घर समेत जलाइदिए

धनुषा । धनुषामा देवरले भाउजुलाई निर्घात कुटपिट गरेर घरमा समेत आगो लगाइदिएका छन्।लक्ष्मीनिया गाउँपालिका- २ की परमशिला यादवमाथि उनका आफ्नै देवर विपिन यादवले कुटपिट गरेका हुन्।

विपिनले भाउजुको घरमा आगो समेत लगाइ दिएपछि लाखौंको सम्पत्ति जलेर खरानी भएको छ। विपिनले शनिबार राति घरमा कुलदेवताको पूजा (बैसकी) गरेको थियो। त्यतिबेला उनले भाउजु परमशिलालाई घरको मुलढोका खुल्ला राख्न भनेका थिए ।

तर परमशिलाले श्रीमान घरमा नभएको ढोका खुल्ला राख्न नमानेपछि घरको देवतालाई थुनेर राखेको भन्दै विपिनले परमशिलामाथि निर्घाट कुटपिट गरेको स्थानीयको भनाई छ।परमशिलाको श्रीमान भने खाडी मुलुक कतारमा छन्।

कुटाईबाट परमशिला शरीरभर निलडाम छ। उनी बोल्न समेत सकेकी छैनन्। घरमा आगजनी भएको थाहा पाएपछि उनी बेहोस् भएको उनका भाइ पंकज यादवले जानकारी दिए। उनका अनुसार आगजनीबाट घर, लत्ताकपडा, फर्निचर र नागरिकतासहितका महत्वपूर्ण कागजात पनि जलेका छन्। ‘झगडाका हुँदै गर्दा विपिनले घरमा आगो लगाइदिने र छोरालाई मारिदिने धम्की दिएको यादवले बताए।

‘आइतबार सामान्य विवाद हुँदा विपिनले एक्‍कासी परमशिलालाई कुटपिट गर्न थाल्यो,’ स्थानीय विनु यादवगले भनिन्, ‘ कुटपिटबाट घाइते भएकी परमशिलालाई साँझ जनकपुरस्थित अञ्‍चल अस्पतालमा भर्ना गरिएको थियो।

‘घर सुनसान भएको मौका छोपेर मध्यरातमा आगो लगाइदियो।’ आगजनीले करिब १० लाखभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको उनले बताइन्। यता, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले घरायसी विवादमा झगडा भएको खबर पाएपछि घटनास्थल पुगेर विपिन यादवलाई नियन्त्रणमा लिएको जानकारी दिए।

उनले कुटिएकी महिलाको घरमा आइतबार मध्यरातमा आगो लागेको बताउँदै कसरी वा कसले आगो लगाए सो विषयमा अनुसन्धान भइरहेको बताए।

Loading...