पाँच क्षेत्रमा लगानी गरे नेपालले ठूलो आर्थिक बृद्धि गर्ने विश्व बैंकको निष्कर्ष

काठमाडाैं । नेपालले निजी लगानीलाई पाँच क्षेत्रमा प्रोत्साहित गरे आर्थिक वृद्धिमा सघाउ पुग्ने निजी क्षेत्रमा लगानी गर्ने विश्व बैकको संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले जनाएको छ ।

नेपालमा निजी क्षेत्रमार्फत् ८० करोड अमेरिकी डलर (करिब ९० अर्ब रुपैयाँ) लगानी गर्ने भन्दै आईएफसीले नेपालमा पर्यटन, जलविद्युत्, कृषिजन्य उपजका व्यापारका अतिरिक्त सूचना प्रविधिको क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको पनि बताएको छ ।

आगामी तीन वर्षमा नेपालको निजी क्षेत्रमा ९० अर्ब लगानी गर्ने आईएफसीकी नेपाल, भुटान र भारतका लागि निर्देशक वेन्डी बेर्नरले बताइन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कन्ट्री प्राइभेट सेक्टर डाइग्नोस्टिक सार्वजनिक गर्दै उनले त्यसका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने भन्दै नेपालमा अहिलेसम्म करिब १५ अर्ब रुपैयाँ लगानी गरिसकेको पनि जानकारी दिइन् ।

“आईएफसीले नेपालमा आफ्नो लगानीमा वृद्धि गर्ने छ,” उनले भनिन् । नेपालको आर्थिक विकासमा सार्वजनिक क्षेत्रको तुलनामा निजी क्षेत्रको योगदान बलियो रहेको भन्दै उनले त्यसमा थप सहयोग जरुरी रहेको बताइन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विश्वसनीय र अनुमानयोग्य कर प्रणाली कार्यान्वयनमा रहेको बताए । उनले समष्टिगत अर्थतन्त्रको स्थायित्व र विश्वसनीय कर प्रणालीको माध्यमबाट लगानीका लागि आश्वस्त गर्न सरकारले प्रयास गरिरहेको बताउँदै नेपालमा उत्पादनको गुणस्तरीयता र बजारीकरण चुनौतिपूर्ण रहेकापनि बताए ।

खतिवडाले सरकार निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको भन्दै सरकारले लिएका नीतिहरुको समीक्षा गर्न मध्यकालीन समीक्षा गर्ने अवधिसम्म कुर्नुपर्ने उल्लेख गरे ।

Loading...