नेपालमा एक वर्षमै २३ अर्बका मोवाइल खपत

काठमाडौं । मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजार पनि अकासिएको छ । नेपाली बजारमा आयात हुने मोबाइल प्रत्येक वर्ष दोब्बर हुँदै गएको छ । यस क्रममा आर्थिक वर्ष २०७३/०७४ मा पौने २३ अर्ब अर्थात् २२ अर्ब ६६ करोड १७ लाख रुपैयाँबराबरको मोबाइल नेपालमा भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

अधिल्लो वर्षको तुलनामा यो संख्यामा वृद्धि भएको हो । आर्थिक वर्ष २०७२/०७३ मा १८ अर्ब १९ करोड मोबाइल आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा मोबाइल आयातमा २५ प्रतिशत वृद्धि भएको छ । यसै क्रममा गत आवमा ५९ लाख ५५ हजार मोबाइल सेट आयात भएको छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ५९ लाख ५५ हजार मोबाइल सेट आयात भएको छ । आर्थिक वर्ष २०७२/०७३ मा ४९ लाख ९० हजार मोबाइल सेट नेपाल आयात भएको थियो । मोबाइल सेट आयातमा पनि अधिल्लो आवको तुलनामा १९ प्रतिशतले वृद्धि भएको छ ।

विगत वर्षभन्दा गत आवमा मोबाइल भ्यालुमा पनि ठूलो मात्रामा वृद्धि देखिएको छ । मोबाइल सेट आयातमा १९ प्रतिशत वृद्धि हुँदा मोबाइलको भ्यालुमा भने २५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिलाई व्यायसायीले भने सकारात्मक रूपमा लिएका छन् ।

हुवावे कम्पनीको नेपालका लागि बजार व्यवस्थापक सुमित प्रधानांगले सेटभन्दा पनि मोबाइल भ्यालूमा देखिएको वृद्धिले मानिस बारफोनबाट स्मार्टफोनमा उक्लिएको बताए । पहिले बारफोन अर्थात १० हजारभन्दा कम मूल्यका मोबाइलको बजार ठूलो थियो । तर पछिल्लो समय ठूलो रूपमा मिड रेन्जका स्मार्टफोन बिक्री भएको छ । १० हजारदेखि ३० हजारसम्मका स्मार्टफोनको बजार वृद्धि हुँदै गएकाले पनि यसको भ्यालुमा वृद्धि भएको उनको भनाइ छ ।

वार्षिक रूपमा मोबाइल आयातमा भएको वृद्धिले नेपालमा मोबाइलको बढ्दो क्रेजलाई पनि दर्शाउँछ । हरेक वर्ष २० प्रतिशतको हाराहारीमा हुने मोबाइल आयातको वृद्धिको मुख्य कारण नयाँ-नयाँ ब्रान्डको प्रवेशलाई लिन्छन् व्यवसायी । यो वर्षमात्र नेपालमा आधा दर्जनको हाराहारीमा नयाँ मोबाइल ब्रान्ड नेपाली बजारमा भित्रिएका छन् । पुराना ब्रान्डले पनि हरेक महिना आफ्नो नयाँ मोडेल सार्वजनिक गर्ने प्रचलन छ । यसको प्रमुख कारण मोबाइल मानिसको आवश्यक वस्तुको रूपमा स्थापित हुँदै जानु पनि हो । प्रधानांगका अनुसार मानिसलाई सामाजिक सञ्जालले पनि मोबाइल खरिदमा आकर्षित गरेको छ ।

नेपालमा आव २०६९/०७० मा पाँच अर्ब ९८ करोड रुपैयाँबराबरको २१ लाख ६४ हजार मोबाइल आयात भएको थियो । आव २०७३/०७४ मा आइपुग्दा यो संख्यामा एक सय ७५ प्रतिशतले वृद्धि भएर ५९ लाख ५५ हजार पुगेको छ । आव २०७१/७२ मा ३८ लाख नौ हजार मोबाइल सेट भित्रिएको थियो । उक्त अवधिमा १३ अर्ब चार करोड बराबरको मोबाइल आयात भएको थियो ।

Loading...