नेप्सेको अनलार्इन कारोबार प्रणाली विरुद्ध लगानीकर्ता आन्दोलनको तयारीमा

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुरु गरेको अनलाइन कारोबार प्रणालीमा समस्या नै समस्या आएपछि सेयर लगानीकर्ताले आन्दोलन गर्ने चेतावनी दिएका छन । अनलाइन प्रणाली सुरु गरेको एक साता बितिसक्दा पनि समस्या समाधान नभएपछि लगानीकर्ता मर्कामा परेका हुन् ।

नेप्सेले पुरानो कम्प्यूटिकृत कारोबार प्रणालीलाई विस्थापित गरेर अनलाइन कारोबार प्रणाली सुरु गरेको हो । तर, नयाँ प्रविधि सुरु भए पनि लगानीकर्ता भने पुरानो कारोबार प्रणाली हुदाँभन्दा बढी समस्यामा परेका छन् ।

नेप्सेको कारोबार रकम, कारोबार भएका कम्पनी तथा सेयर मूल्य घटेको र बढेको सम्बन्धमा समेत विस्वस्त हुन नसकिने अवस्था अनलाइन कारोबार प्रणालीमा देखिएको छ । नेप्सेले भएको कारोबार रकममा कुनै फरक नभएको जनाएको भए पनि लगानीकर्ताले दिँदै नदिएको अर्डर प्लेसिङ हुने र कारोबार हुने जस्ता समस्या पनि समाधान नभएको लगानीकर्ताको गुनासो छ । नयाँ प्रविधि सहज, सरल र छरितोका साथै विश्वसनीय पनि हुनुपर्नेमा त्यस्तो नभएको लगानीकर्ताको भनाइ छ ।

नयाँ प्रविधि सञ्चालन आएपछि समस्या झनै बढेर गएको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । “अनलाइन कारोबार प्रणाली सुरु भए पनि विगतका भन्दा धेरै समस्या देखिएका छन्,” उनले भने, “कारोबार प्रणालीको स्तरोन्नति गरेको एक साताभन्दा धेरै हुँदा पनि समस्या समाधान गर्न नेप्से जिम्मवार देखिएको छैन ।”

नयाँ प्रविधि सुरु भएपछि झनै सहज हुनुपर्ने हो की झनै समस्या बढ्ने हो ? उनले प्रश्न गरे । अनलाइन कारोबार प्रणाली लगानीकर्तालाई सहज भन्दा पनि जटिलता थपेको उनको भनाइ छ । अहिलेको नयाँ कारोबार प्रणालीले ५० वटा ब्रोकरलाई पनि एसेप्ट नगर्ने खालको देखिएको उनले बताए । बुधबारसम्ममा नेप्सेका समस्या पूर्णरूपमा समाधान नभए आन्दोलन गर्ने चेतावनी लगानीकर्ताले दिएपछि भने नेप्से केही संयम भएको देखिन्छ ।

तर, अनलाइन प्रणालीमा निरन्तर सुधारका क्रममा रहेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । “अनलाइन प्रणाली सुरु भएको पहिलो दिनको तुलनामा मंगलबार धेरै सुधार भएको छ,” उनले भने, “आइतबार करिब साढे १७ करोडको कारोबार भएको छ, दैनिक २५ देखि ३० करोडको कारोबार हुने बजारमा मंगलबारको कारोबार रकमले पनि अनलाइन प्रणालीमा कारोबार गर्न देखिएको समस्या समाधान हुँदै गएको बुझाउँछ ।” नयाँ प्रणाली भएकाले विस्तारै पूर्णरूपमा सहज र सरल बन्दै जाने उनको आशा छ ।

मंगलबार नेप्सेको प्रत्यक्ष कारोबार देखाउने बेव साइट पनि अन्य दिनको तुलनामा केही अपडेट भएको छ । तर, समस्या भने देखिएका छन् । सोमबार नेप्सेको साइटमा कारोबारका तथ्यांक भए पनि कारोबार भएका कम्पनीको सूचीकृत कम्पनीको क्लोजिङ प्राइस थिए । तर, मंगलबार त्यो समस्या भने समाधान भएको छ । समस्या समाधान भएको भए पनि नेप्सेको साइटको तथ्यांकलाई पूर्ण रूपमा विश्वास गर्ने आधार भने छैन ।

नयाँ कारोबार प्रणाली सुरु गर्दा नेप्सेले पर्याप्त अभ्यास तथा हुन सक्ने कमजोरीलाई ध्यान नै नदिएकाले समस्या आएको हो । नेप्सेमा अनलाइन कारोबारको मात्र नभै अन्य सर्भरसम्बन्धी समस्या पनि विगतमा दोहोरिरहने गरेका छ । यो पटक पनि त्यो समस्या हुनसक्ने विश्लेषण गरिएको छ । तर, नेप्सेले भने त्यसबारेमा केही सूचना बाहिर ल्याएको छैन ।

Loading...