तीन हजारको संख्यामा कोरा साइकल र्याली

काठमाडाैं । ललितपुरकाे पाटन ढोकाबाट शनिबार बिहान करिब ३ हजारको संख्यामा कोरा साइकल र्‍याली शुरु भएको छ।

बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ। र्‍यालीमा ९ वर्षीय बालक देखि ७० वर्षीय वृद्धाको सहभागिता थियो। साथै उल्लेखीय संख्यामा विदेशी युवा युवती समेत उपस्थित छन्।

र्‍याली शुरु हुनु अघि पूर्व राष्ट्रिय साइकल यात्री स्वर्गीय नारायण गोपाल महर्जनको स्मरणमा सहभागिले एक मिनेट मौन धारण गरेका थिए। र्‍यालीको सुरुवातमा १०० किलोमिटरका धावकहरूलाई पूर्व प्रधान सेनापति गौरव शम्सेर राणाले रास्ट्रिय झन्डा फहराएर हौसला प्रदान गरेका थिए। राणा आफैं तीन वर्षदेखि र्‍यालीमा सहभागिता जनाउदै आएका छन्।

“सबैको स्वास्थ्य सुधार गर्न र प्रदुषण नियन्त्रण गर्न यस्ता र्‍यालीले धेरै महत्व राख्छन” ६३ वर्षीय राणाले भने। आफूले साइकल कुदाउन सकुन्जेल कोरा साइकल र्‍यालीमा सहभागी हुने राणाले बताए।

पाटन दरबारबाट शुरु भएको काेरा साइकल यात्रा किर्तिपुर, चोभार, नैकाप, स्युचाटार, स्वयम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेऊछाउको बस्तीहरू हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरवारमा पुगेर टुंगीनेछ।

अमेरिकी नागरिक चार्ल्स विगत २ महिनादेखि काठमाडौंमा छन्। फेसबुकमा सूचना देखेर र्‍यालीसम्म आइपुगेका २८ वर्षीय चार्ल्सले महर्जनप्रति सम्मान ब्यक्त गर्न चाहेको बताए।

र्‍यालीमा पूर्व साइकल च्याम्पियन लक्ष्मी मगर पनि लिडरको रुपमा सहभागिता जनाउदै छिन्। उनी कोरा साइकलको सुरुवातबाटै सक्रिय रुपमा सहभागी छिन्। सर्वसाधारणलाई साइकल सम्बन्धी चेतना जगाउनसके उपत्यकामा प्रदुषण कम हुने उनी बताउछिन्।

कोरा साइकल र्‍याली एकैसाथ बुटवल, धरान र पोखरामा पनि संचालन भइरहेको आयोजकका एक सदस्य राजले बताएका छन्। काठमाडाैं कोरामा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। यसमा नव प्रवेशी हुन्छन्। ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरु सहभागी हुन्छन्।

Loading...